नगर विकासको जग्गा हिनामिना गर्ने ३७ जनाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौं ।

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा हिनामिना गरेको गरेको अभियोगमा विभिन्न व्यक्तिमाथि मुद्दा दायर गरेको छ ।

आयोगले ३ जना पूर्वअध्यक्षसहित ३७ जनामाथि मुद्दा दायर गरेको छ । उनीहरूले उक्त जग्गा लिज तथा बिक्री गर्दा अनियमितता गरेको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।आयोगले पूर्वअध्यक्षत्रय तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ बमोजिम र बोर्ड बैठकको निर्णयबमोजिम उपलब्ध गराउनुपर्नेमा अध्यक्षहरूको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरूसमेतलाई जग्गा उपलब्ध गराएको भन्दै मुद्दा दायर गरेको उल्लेख गरेको छ ।

आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारी र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारी, कित्ताकाट प्रक्रियामा संलग्न नापी कार्यालयका कर्मचारी तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिमाथि समेत कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आयोगले समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली ८ लाख ५० हजार, तत्कालीन अध्यक्ष पल्टु राना ३७ लाख ९२ हजार, तत्कालीन अध्यक्ष पुष्कल चौधरी ३ लाख ७४ हजार रुपियाँ हिनामिना गरेकाले बिगो बराबरको जरिवाना र कैदको माग गर्दै मुद्दा दायर गरेको आयोगले जानकारी दिएको छ ।

त्यस्तै, आयोगले समितिका तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरी ५ लाख १४ हजार ८ सय ७३, तत्कालीन नायब सुब्बा पुष्पराज भट्ट ६३ लाख २२ हजार तत्कालीन अमिन तुलादत्त जोशी ४६ लाख ४२ हजार, तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्णकुमार निरौला ८ लाख ५० हजार, तत्कालीन मालपोत अधिकृत विशनसिंह थापा ४६ लाख ८१ हजार ७ सय ५३ रुपियाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन मालपोत अधिकृत अशोककुमार भण्डारी १६ लाख ४० हजार ५ सय २०, तत्कालीन मालपोत अधिकृत शंकरबहादुर विष्ट १६ लाख ८० हजार, तत्कालीन शाखा अधिकृत दलजित भट्ट मालपोत कार्यालय कञ्चनपुर २१ लाख ११ हजार, तत्कालीन शाखा अधिकृत जयबहादुर विष्ट मालपोत कार्यालय, कञ्चनपुर १७ लाख ३२ हजार ४ सय ३६, तत्कालीन शाखा अधिकृत घनश्याम दत्त विष्ट १ लाख ८७ हजार ४ सय ४०, तत्कालीन नायब सुब्बा गणेशबहादुर ऐर ४ लाख २५ हजार, तत्कालीन नायब सुब्बा नयनसिंह कुँवर १० लाख ५० हजार, तत्कालीन नायब सुब्बा भीमसिंह रावल ८ लाख २० हजार २ सय ६०, तत्कालीन खरिदार नरेन्द्रबहादुर ऐर ४ लाख २५ हजार हिनामिना गरेको मुद्दा दायर गरेको छ ।

यता आयोगले तत्कालीन खरिदार नमराज भट्ट २१ लाख ३० हजार ८ सय ७६, तत्कालीन प्रमुख नापी अधिकृत मोहनचन्द ठकुरी ८ लाख ५० हजार, तत्कालीन नापी अधिकृत पुष्पराज जोशी १६ लाख ९२ हजार, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति लीलावति धामी ५ लाख १४ हजार ८ सय ७३, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति जयबहादुर कामी १६ लाख ९२ हजार, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति महेश विष्ट १६ लाख ४० हजार ५ सय २०, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति नवराज ऐर ८ लाख ५० हजार, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति जानकी चन्द २१ लाख, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति महेशप्रसाद ३ लाख ७५ हजार, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति बेलु देवी कामी १६ लाख ८० हजार, बिचौलिया मदन दमाई ३७ लाख ४६ हजार ८ सय ८०, हाल कायम जग्गाधनी अनिता गुप्ता, लक्ष्मी विष्ट, गीतादेवी सिंह, फुन्नी कपाडी, जानकी कुमारी हमाल, पद्मादेवी ओझा, मानबहादुर थापा, गुमादेवी पन्त र लक्ष्मीदेवी बडुवालविरुद्ध सार्वजनिक प्रकृतिको जग्गा आफ्नो नाममा कायम रहेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप कैद सजायसमेतको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

२८ लाख घूससहित इन्जिनियर र प्लम्बर पक्राउ

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घूससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली–१ स्थित इन्जिनियरको निवासबाट बुधबारै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।