प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

0
Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताउनुभएको छ । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताउनुभएको हो ।

देशलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गर्नुभयो । “पाँच दलिय गठबन्धन टुट्याउन विदेशीहरुले चलखेल गरे,” उहाँले भन्नुभयो, “उच्च स्तरीय नेतृत्वले विदेशी चलखेललाई चिरेर अघि बढ्नुभयो ।”

बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको पौडेलले मध्य पहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै उहाँले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गर्नुभयो ।

रंगेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीहुँदै प्युठान जोड्ने सडकको काम भइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा भएको बताउनुभयो । बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन दिनुभयो ।

मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभयो । आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई संरक्षण गरी संविधानको रक्षाका निम्ति मुद्दा र विचार मिल्नेहरुबीच गठबन्धन भएको बताउनुभएको हो ।

संघीयता, गणतन्त्र, लोकतन्त्रलाई रक्षा गरी जनताका आधाभूत विकासलाई पूरा गर्न जनतामाझ गठबन्धनका उम्मेदवार आएको बताउनुभयो । बागलुङ, गुल्मी, रोल्पा र रुकुमका जनतालाई सहजका निम्ति अर्नाकोट एयरपोर्टको परिकल्पना गरिएको सुनाउनुभयो ।