कृष्णलाल महर्जन : जसलाई सन्यास लिन पार्टीले दिएन

0
Shares

ललितपुर । ६८ वर्षीय कृष्णलाल महर्जन, पार्टीमा संकट परेको बेला पार्टीको सधैँ रोजाईमा पर्ने ललितपुरका नेता हुनुहुन्छ । महर्जनलाई राजनीतिक वृत्तमा यही कारणले बढी चिनिने गरेको छ । यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नं २ को लागि महर्जनले सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

महर्जनको यो चौथौं पटकको उम्मेदवारी हो । यसपटक भने उहाँ नेकपा (एकिकृत समाजवादी)को उम्मेदवार रहनुभएको छ । ‘अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गर्नु भो । संविधान असफल बनाउन खोज्यो । पार्टी एक व्यक्तिको स्वच्छाचारिता चलेको थियो । नीति, सिद्धान्त, विचार केही भएन। त्यसको विरुद्धमा विद्रोह गरेर बाहिर निस्किएको हुँ ।’ उम्मेदवार महर्जनले भन्नुभयो ।

२०५६ सालमा भएको निर्वाचनमा नेकपा (एमाले)ले ललितपुर क्षेत्र नं २ को उम्मेदवारमा महर्जनलाई पहिलो पटक रोजेको थियो।पार्टीभित्र लो–प्रोफाईलमा रही सक्रिय रहँदै आएका महर्जनलाई त्यतिबेला उम्मेदवार बन्ने मनैदेखि चाहना थिएन । उम्मेदवार बन्ने चाहना नराख्नुमा इँटा भट्टा सञ्चालनमा व्यस्त रहेको र त्यसमाथि महर्जनको बुबा कान्छा महर्जनको निधन भएको वर्षदिन तिथि पनि सकिएको थिएन । तत्कालीन नेकपा (माले)बाट सिद्धिलाल सिंह उठ्ने भएपछि पार्टीलाई विजयी गराउन महर्जनलाई उम्मेदवारी दिन लगाइएको थियो ।

उम्मेदवार महर्जनका अनुसार त्यसका दुई, तीन वटा कारण रहेको थियो । पार्टी विभाजनले अस्तव्यस्त हुँदा महर्जनको विकल्पमा पार्टीभित्र अर्को सशक्त उम्मेदवार थिएन । दोस्रो सिंहलाई २०४८ र २०५१ सालमा चुनाव जिताउन महर्जन निकै खटिएका थिए । तेस्रो सिंह र महर्जन नजिकको दाजुभाई भएकोले पारिवारिक मत तान्न पनि सकिने पार्टीको आकंलन थियो । ‘ आफ्ना दाजु एवं नेकपाका कम्युनिष्ट आन्दोलनका एक सशक्त नेता एवं दाजु सिद्धिलाल सिंहसँग चुनाव लड्ने मेरो चाहना थिएन । पार्टीले मलाई उम्मेदवारी दिन लगाइयो ।’ उम्मेदवार महर्जनले पुराना कुरा सम्झिँदै भन्नुभयो ।

पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा ‘ दन्त्य कथा’ का नायक झै छवि बनेको सिंहलाई चुनावमा हराएपछि महर्जनको संसद्को राजनीतिमा उदाएका थिए । पहिलो पटक सांसद् हुँदा संसद्मा नियमित उपस्थिति हुने र समसामयिक सवालमा आफ्नो कुरो राख्ने महर्जनको ललितपुरका जनताले रुचाएका थिए ।समसामयिक सवालमा आफ्नो कुरो राख्ने स्वभावलाई भने महर्जनको अघिल्लो संसद्मा देखा परेन ।

२०७४ सालको निर्वाचनमा विजयी भएपछि विकास निर्माणका धेरै प्रस्ताव लगेका थियो । पार्टीभित्र आफ्नो प्रस्तावलाई निकै बेवास्ता गरेको महर्जनको अनुभव रहेको छ ।‘ पार्टीभित्र माधव गुटको सांसद् भनि फरक व्यवहार ग¥यो । संसद्मा बोल्न दिदैन्थ्यो। बोल्न अनुमति माग्दा समय छैन भनि ससदीय दलका उपनेताले कहिले अनुमति नै दिएन । यस्तै व्यवहार एक पटक होइन, दुई पटक होइन पटक पटक व्यहोर्नुप¥यो । निकै उकुसमुकुसको अनुभूति भयो । बाध्य भएर पार्टी छाडेको थिए ।’ उम्मेदवार महर्जनले भन्नुभयो ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा निकै आशावादी थियो ।सिद्धिलाल सिंह नै चुनाव उठ्ने भएपनि उहाँले टिकट पाउनुभएन । निर्वाचनमा एमालेको पराजय व्यहोर्नुप¥यो । लगातार चार पटक जितेको सो क्षेत्र एमालेको हातबाट फुत्किएकोले पार्टीले २०७० सालमा भएको निर्वाचनमा महर्जनलाई फेरी उम्मेदवार बनाएको थियो ।

पहिलो पटक निर्वाचनमा महर्जनले चुनावी खर्चको लागि लिइएको ऋण तिर्न इँटा ओसारपसार गर्न प्रयोग गरिरहको ट्रक बच्नुपरेको थियो ।‘ २०७० सालमा महर्जनलाई चुनाव प्रचारप्रसारका क्रममा अरु उम्मेदवारको दाँजोमा खर्च गर्न निकै कठिनाई भएको थियो । २०७४ सालको निर्वाचन एक, दुई महिनाअघि महर्जनका ९० वर्षीया आमा कान्छी महर्जनको निधन भएको थियो । पुरै परिवार शोकाकूल स्थितिमा थियो । यसले गर्दा चुनावमा होमिने इच्छा थिएन । तैपनि पार्टीले उम्मेदवार बनायो ।’ नभन्दै महर्जन चुनावमा विजयी भएका थिए ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई पटक भेटेर यस पटक निर्वाचनमा आफू उम्मेदवार नबन्ने कुरा राखेको बताउँदै महर्जनले भन्नुभयो । ‘ मेरो कुरो सुनेर नेता नेपालले हुन्छ पनि भन्नुभएको थियो । पछि म नभएको समयमा जिल्लाका नेता र कार्यकताहरु नेता नेपाल कहाँ पुगेर मलाई नै उम्मेदवार बनाउनुपर्ने कुरो जोडडार रुपमा राखेको सुनेँ । पार्टीको अस्तित्व बचाउनु कुरो मुख्य प्रश्न रहयो । यसले गर्दा अन्तिम क्षणमा उम्मेदवार बन्ने प्रस्ताव स्वीकार गरेको हुँ ।’

उम्मेदवार मनोनयन दर्ता गर्ने दिन गत असोज २३ गते आइतबारको अघिल्लो दिन बेलुकासम्म पनि उम्मेदवार बन्न पार्टीले गरेको आग्रह महर्जनले इन्कार गर्दै आउनुभएको थियो। ‘पार्टीलाई संकटबाट टार्न पुनः चुनावी मैदानमा उत्रिएको हुँ । सत्तागठबन्धनका दलहरुको बलियो समर्थन र विगतमा गरेको काम नै चुनाव जित्ने मेरो मुख्य आधार हुन् ।’ उम्मेदवार महर्जनले भन्नुभयो ।