एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आजका सबै कार्यक्रममा सहभागि हुने

0
Shares

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकी सँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा हिजो उनी उपस्थित हुन सकेनन् ।

हिजो बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसँगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो ।

अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र क का उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराए ।निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले सो पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भएको दाहालले जानकारी दिनुभएको छ । आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा क्षेत्र नं ५  कार्यकर्ताहरुको उपस्थिती रहने छ ।

३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए । अध्यक्ष ओली ३ गते दिउसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।