तिहारलक्षित दैनिक मिठाई पसल अनुगमन शुरू

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले तिहारलक्षित मिठाई र किराना पसलको अनुमगन शुरू गरेको छ । हिजो मंगलबारबाट बानेश्वर क्षेत्रको मिठाई र किराना पसलबाट अनुगमन शुरू गरेको कामपाले तिहार नसकिएसम्म दैनिक अनुमगन गर्ने जनाएको छ ।
कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले नेपाल समाचारपत्रसँग कुरा गर्दै कामपाले भोली बिहीबारबाट खाद्य अनुगमन समितिले विशेष अनुगमन शुरू गर्ने र छठसम्म निरन्तर अनुगनम जारी राख्ने जानकारी दिनुभयो ।

उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिमा वडा नम्बर ५, १८ र ३१ का वडा अध्यक्ष, उपभोक्ता समितिका प्रतिनिधि, सीडीयो कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी परिसरका प्रतिनिधि सदस्य छन् । समितिको सदस्य–सचिवमा कामपा स्वास्थ्य विभाग प्रमुख रहने व्यवस्था छ ।

समितिका सदस्य–सचिव त्रिपाठीले बैठकलगत्तै राजधानीका सबै मिठाई पसलमा अनुमगन शुरू गर्ने जानकारी दिँदै भन्नुभयो– ‘तिहारको समयमा बढी मिसावट हुने भएकोले मिठाई पसलमा अनुगमन केन्द्रित गर्न लागेका हौं ।’
कामपाले संघीय सरकारको समेत सहयोग लिएर अनुगमन गर्न लागेको जनाएको छ । आज बुधबार बस्ने समितिको बैठकले अनुगमनको मोडालिटी तयार गरी दिनदिनै अनुगमन गर्ने व्यवस्था गर्न लागेको सदस्य–सचिव त्रिपाठीको भनाई थियो । उहाँले भन्नुभयो– ‘अब चाडवाडमा मात्र होइन, सधैँजसो बजार अनुगमन गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि महानगरले गृहकार्य जारी राखेको छ ।’ कामपाले अनुगमनको क्रममा मिसावट भएको खाद्य वा मिठाईमा कैफियत भेटिए तत्कालै कारबाही गर्ने जनाएको छ ।

यसैबीच समितिले मंगलबार बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको अनुगमनको क्रममा भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको जनाएको छ । कामपा स्वास्थ्य विभागका निर्देशक त्रिपाठीको नेतृत्वको टोलीले वडा नं– १० मा रहेको द थकाली एन्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरेको थियो । स्वास्थ्य विभागका प्रमुख त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ गर्नुपर्ने अवस्था रहेको छ । परिकार बनाउने चामल, दाल, मसलाको लगायत कच्चा पदार्थको उपभोग मितिका विषयमा सञ्चालकहरूमा खासै चासो नदेखिएको र भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ पनि कमजोर रहेको अनुगमनमा पाईएको थियो ।

कामपाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाई पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ । निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको बताउनुभयो । व्यवसायी आफैंले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि कामपाले आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश दिएको थियो ।