कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र तयार

0
Shares

काठमाडौं ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुईवटा प्रदेशका लागि मतपत्र छाप्ने काम सकिएको छ ।

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेशसभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएकोे जानकारी दिएको छ ।आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ भइरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार कुल ९० लाख ६३ हजार मतपत्र छाप्ने काम सकिसकेको छ ।

उम्मेदवार रहे पनि नरहे पनि सबै चिह्न राखेर विगतमा मतपत्र छपाइ गर्दा मतपत्रको आकार निकै ठूलो भएका कारण मतदान गर्न निकै झन्झट भएकोले यसपटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण शुरू भइसकेको छ । हालसम्म वागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बा“की प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरू हुने पनि प्रवक्ता पौडेलले बताउनुभयो ।यसैबीच आयोगले देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू कायम गरेको छ । देशभर प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि कुल १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको लागि ३ सय ३० क्षेत्र रहेका छन् ।

त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेको आयोगले जनाएको छ । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य छन् । आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५ मतदाता छन् भने मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६ सय २८ जना मतदाता छन् ।

त्यसै गरी वागमतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना मतदाता छन् ।