ओलीप्रति अनादर बन्दै गठबन्धनको शीर्ष नेतृत्व

0
Shares

काठमाडौं । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मैदानमा रहेका सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रतिपक्ष गठबन्धनप्रति आक्रमक बन्दै गएका छन् । चुनावी तयारीलाई तीव्र बनाउँदै गएका नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)–नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनले ओली प्रबृतिको खरो आलोचना गरेका हुन् ।

आज (मंगलबार) लललितपुरमा संयुक्त चुनावी सभा गरेका नेताहरुले व्यवस्था जोगाउँन गठबन्धन गरेको दावी गरे । कार्यक्रमलाई सम्बोधनका क्रममा शीर्ष नेताहरुले ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कमदको विरुद्ध अग्रगनका पक्षपातिहरु एक ठाउँमा उभिएको बताउँदै प्रतिपक्ष गठबन्धनप्रति आक्रोशित मुद्रामा प्रस्तुत भए ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाउनुभयो ।

सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गराउँदै ओलीप्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओलीनै अहिले तिनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ राति नै राष्टपतिको जानु आवश्यक नभएको भन्दै देउवाले भन्नुभयो, ‘त्यही काम बिहान ६–७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई मास्ने प्रयास गरेको प्रष्ट पार्नुभयो । ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयोे, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’ अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने देउवाले विश्वास व्यक्त गर्नुभयो । गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गर्दै गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा समेत सुधार हुँदै आएको दाबी गर्नुभयो ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहानेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभयो । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भन्नासाथ प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको उहाँले बताउनुभयो । कार्यक्रमलाई सम्बोधनका क्रममा दाहालले भन्नुभयो, केपी ओलीसँगको गठबन्धनमा राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्त्वहरू र प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’

मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी कसरत चलिरहेको भन्दै प्रतिपक्ष गठबन्धन र त्यसका नेता ओलीप्रति लक्षित गर्दै दाहालले आक्रोश पोख्नुभयो । गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको भन्दै उहाँले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने बताउनुभयो । देशलाई निरंकुशता र अराजतकताको भूमरीमा हाल्ने प्रवृत्तिलाई पार्टी र संसदीय दलको नेता केपी ओलीबाटै भएको स्मरण गराउँदै दाहालले वैधानिक संस्थाका अवैधानिक सेटिङले माधवकुमार नेपाल र आफूलाई दुई ठाउँमा बस्नुपर्ने बनाइदिएको दाहालले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, अहिले प्रतिपक्ष गठबन्धनमा कस्ता अनुहारहरू छन्, कस्ता भाषा बोल्छन् सबैले बुझेका छन कि तिनीहरु प््रतिगमनका मतियार हुन् ।’

हाम्रो गठबन्धनमा संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समानुपातिक, समावेशी मान्यता सहित संघीयताको रक्षा गर्ने क्लियर उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट गरेका थियौं, गठबन्धन सरकार बनाउनको लागि मात्रै, सत्ताप्राप्तको लागि मात्रै होइन । व्यवस्था जोगाउनका लागि हो ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एउटा पार्टीले जित्ने र अर्को पार्टीले हार्ने नभई परिवर्तनले जित्ने कि परिवर्तन विरोधिले जित्ने भन्ने फैसला हुने दाहालको भनाइ छ । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, देशका सबै उत्पीडित जाति, वर्ग, क्षेत्र समुदायलाई समावेशी, समानुपातिकसहित स्थापित भएको, लोकतन्त्रको रक्षा गर्ने कि यसलाई उल्ट्याउन दिने भन्ने ठूलो लडाइँजस्तो आफुहरु रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘हामी ब्यालेटबाट राजनीतिक ब्याटल लड्दैछौं । ब्यालेटबाटै अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैगरेकाले यसलाई सामान्य नसोचियोस् भन्ने अपील गर्न चाहन्छु ।’ यो राष्ट्रको एकता, लोकतन्त्रको परिवर्तनको रक्षासँग सम्बन्धित मुद्दा छ । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मंसिर ४ गते हुन्छ ।’

कार्यक्रमलाई संबोधन गर्दै (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभयो । केपी ओलीले संविधान माँस्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन गर्नुपरेको उहाँको भनाइ छ । ‘दुई पटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौं’, नेपालले बताउनुभयो ।