पार्टीहरू ‘प्राइभेट कम्पनी’ जस्ता भए



एउटा दन्त्यकथा छ । कुनै गाउँमा दुई मीत थिए । एकदिन दुवैले दुवैलाई केही चिज दिन मन गरेछन् । एकजनासँग चामल र अर्कोजनासँग राम्रा काठका हला रहेछन् । पहिलोले दोस्रो मीतलाई एकपाथी चामल सित्तै दिएछन् ।

बदलामा दोस्रोले पहिलोलाई सिसौको हलो सित्तैमा दिएछन् । दुवैले एक–र्कालाई आफूसँग भएका चिज दिए, काम चल्यो । समाजमा उखान चल्यो । ‘मैले मीतलाई एकपाथी चामल सित्तै दिएँ, मीतले मलाई एउटा हलो सित्तै दिए ।’कथाले भनेजस्तो मीत–मीतको भूमिकामा अहिले दुई नेताहरू रहेका छन् । ती दुवैले विगतमा धेरै दुःख–कष्ट खेपेका हुन् । जीउज्यानको पर्वाह नगरीकन समाज बदल्नका खातिर लडेका हुन् । केही समयपछि दुवैको बाटो फाट्यो र दुईतिर लागे । समय बलवान् हुन्छ तर अहिले समयले ती दुवैलाई जोडिदियो, याने ती दुवै फेरि एउटै बाटोका सहयात्री भए ।

ती दुई नेता हुन्– माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई । दुवैले दुवैलाई गुन लगाएका छन् । बाबुरामले त्यागको राजनीति भजाउँदै गोरखा–२ माओवादी केन्द्रका नेता प्रचण्डलाई छोडेजस्तो गरे । उता प्रचण्डले बाबुराम पुत्री मानुषी यमी भट्टराईलाई काठमाडौँ–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाए । यता बाबुरामको त्यागको राजनीतिमा एक इँटा थपियो उता छोरी चुनाव जितेपछि लगभग राजनीतिमा सेटल हुन्छिन् भन्ने आश जागेको छ ।

नेपाली राजनीतिका सर्वाधिक अस्थिर पात्र हुन्– बाबुराम । उनले संविधान जारी भएपछि माओवादी छाडे र नयाँ शक्ति बनाए । नयाँ शक्तिमा उनी सिङ्गै एकथान माननीय भएर सांसद गए । भाषणका कुरा छोडिदिऊँ उनी जेएन्यु स्कलर हुन् । अझ उनको बृहत् ज्ञान भनेकै वास्तुकलामा विद्यावारिधि हो । इन्जिनियरिङका खुङ्खार जानकार । कालोलाई सेतो र सेतोलाई कालो बनाउने खुबी उनीसँग बर्करार हुने हुँदा पहिलोपल्ट अर्थमन्त्री हुँदा मुलुकका हितमा धेरै राम्रा कामहरू गरेथे । १ प्रतिशत टीडीयस कर उनकै सोच हो ।

उनी नेपालका अर्थमन्त्रीहरूको इतिहासमा थोरै तर सफल अर्थमन्त्रीहरूमा औंलामा गन्न सकिने हुन् । सामयिक कुरा अध्ययन गर्छन्-पढ्छन् । हरेक कुरामा तरोताजा हुन्छन्, त्यसैले उनलाई भाषणमा कसैले जित्न सक्दैनन् तर बाबुरामले राम्रो र ठीक कुरा भने पनि मानिसहरू किन किन उनीमाथि अनाहकमा शंका गरिहाल्छन् । प्रधानमन्त्री हुँदा उनकी पत्नी हिसिला यमीको चुरिफुरी हेर्नलायक थियो । उनले चढेको मुस्ताङ म्याक्स गाडीबारे धेरै पहेलीहरू आए र पछि ती सेलाए । उनी राम्रो गर्न खोज्ने तर कसोकसो ढङ्ग नपु¥याउने नेतामा गनिन्छन् ।

तर्कमा विशारद ज्ञान हासिल गर्ने जोसुकै हुन्, ती गरिबी, भ्रष्टाचार, कुशासन र अनेक तिकडम मिलाएर विकासे गफका गुड्डी हाँकी जनतालाई इमोसनल ब्ल्याकमेलिङ गरी हरेक चुनावमा आश्वासनका घाँस देखाएर पछि–पछि हिँडाउन सफल हुनु नेपाली नेताको पहिचान हो । यसपटक बाबुराम त्यस कुरामा भने म्याराथन जित्न सफल भए । उनीपछि माओवादी केन्द्रका नेता तथा सभामुख अग्नि सापकोटा निस्किए । पछि थाहा भयो, भतिजका लागि मार्ग प्रशस्त गर्न उनले समेत त्यागको अ¥यानिक अभिनय गरेका रहेछन् । पदलाई आफूमा राखिराख्नका लागि अनेक उपाय हुन्छन्– राजनीतिज्ञका । कसैले विकासका काम खुरूखुरू गर्छन् । कसैले भने विरोधीलाई बेस्कन गाली गरेर निमुखामाथि सपनाको बेपार गर्छन् । यी दुई काम गर्न नसक्नेहरू यो वा त्यो तर्कको महाजाल फ्याँकेर मतदातालाई आफ्नो वैचारिक पासोमा राखिरहन चाहन्छन् ।

खासमा अहिले बाबुरामलाई सर्वसाधारणले पत्याएका छन् । ‘देशसेवा गर्नैका लागि सत्ताको स्वार्थी राजनीति मात्र गरिरहनुपर्दैन । सत्तामा नबसीकन समेत देशसेवा गर्न सकिन्छ भनेरै मैले सत्ताको राजनीतिबाट आफूलाई अलग राखेको हुँ ।’ सुन्दा यो कुरा रोचक लाग्छ तर यसभित्रको कूटिलता बुझ्ने हो भने जोसुकैलाई घिन लाग्छ ।

आफू सत्तामा टिकिरहनका लागि सम्भव नभएपछि सन्तानलाई आफ्नो व्यक्तित्वको राप र तापमय शक्ति देखिने वा नदेखिने गरी प्रयोग गरेर ‘नयाँ राजनीतिक गेटअप’ दिनका लागि अभिभावकहरूले अनेकानेक रूपरङ्गमा दुःख गर्छन् । हो, बाबुरामको पनि यो बौद्धिक र कूटनीतिक दुःख हो । आफ्नै कार्यकर्ताहरूलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा कैदमा रहेका कांग्रेसी सांसद मोहमद अफ्ताप आलमका छोरालाई कांग्रेसले टिकट दियो । उता मुद्दा नै फैसला नभएका आरोपित नेता विजय गच्छदारलाई पार्टीले सानसाथ उम्मेदवार बनायो ।

विचारहरू सडेपछि राजनीति सड्ने रहेछ । एकादुईलाई छाडेर वर्तमान नेपाली राजनीतिमा वैचारिक राजनीति गर्ने नेताहरू दिउँसै बत्ती बालेर खोज्दा पाइँदैनन् । केही दिनअघि एक दशकजति वैकल्पिक राजनीतिको रटान लगाउने आशलाग्दा नेता रवीन्द्र मिश्र राप्रपामा समाहित भए । उनको व्यक्तित्व, ज्ञान, तर्क र भिजनले मुलुकलाई सही बाटो देखाऊला, दुःखमा त्राण देला र नयाँ पुस्ताको हातमा राजनीति ल्याऊला भन्ने सोचेर उनका भर्चुअल र एक्चुअल दुनियाँमा बीसौं लाख फलोअरहरू भए ।

अघिल्लो स्थानीय चुनावमा चतुर रवीन्द्रले बुद्धि पु¥याएका भए असल तथा काबिल प्रशासक किशोरकुमार थापा (जो उनको साझा पार्टीको टिकटमा मेयर उठेका थिए) लाई काठमाडौँ महानगरपालिकाको मेयर जिताउन सक्थे । आफैँले तिकडम गरेर काठमाडौँ–१ मा प्रकाशमान सिंहलाई हराउन सक्ने तागत रहेछ । पछि परिणाम आउँदा उनी थोरै मतले प्रकाशमान सिंहसित हारे ।

‘चुच्चे ढुङ्गो उहीँ टुङ्गो’ भनेझैँ निनानसेकमा उनको राजनीतिक चिन्तन नै पश्चगामी रहेको बुझियो । घुम्दै-फिर्दै रुम्झाटार भनेजस्तै भयो । उनी राप्रपामा सानका साथ पसेर उपाध्यक्ष पद पड्काए । राप्रपामा पस्नु अपराध होइन । अहिले जो–कोही बालिग नागरिकले म यो पार्टीमा जान्छु, बस्छु र सदस्यता ग्रहण गर्छु भन्न पाउँछ । म कुनै पनि राजनीतिक पार्टीमा बस्दिनँ र पस्दिनँ भन्न पनि पाउँछ ।

व्यक्तिलाई उसको अन्तर्मनले भनेको सुन्ने र निर्णय गर्ने अधिकार संविधानले दिएको छ । अतः मिश्रले के गर्छन् भन्दा पनि उनको विचारले देशलाई कतातिर लान्छ भन्ने चासो आम नागरिकका हैसियतले जो–कसैलाई हुनुपर्छ । त्यतिमात्र कुरा उठाउन खोजिएको हो । जूवामा जूवाडेको धनराशि र तुजुकको परीक्षा भएझैँ चुनावमा जनताका माझमा जाँदा को–कति लोकप्रिय छ भन्ने कुरा उम्मेदवारी दिएर ढ्वाङ थापेपछि थाहा हुन्छ ।

यस्ता झीनामसिना कुरा निकालेर माथापच्ची गरिराख्नुको कुनै दरकारै छैन । संसद्मा प्रवेश पाउनका लागि जो–कसैले संसदीय राजनीति नै गर्नुपर्छ । अतः उनले गरेको त्यही हो । मान्छे फरक भए कुरा फरक आउँछन् भन्नेसम्म विश्वास हो जनताको ।संसदीय राजनीतिका लागि उनले काठमाडौँ–१ मै आफ्नो भाग्य अजमाउने विचारले उम्मेदवारी दिए तर त्यसको परिणति के हुने हो, त्यो अझै अन्योलको भूमरीमै छ । एउटा कुराचैँ के भने, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सो क्षेत्रबाट तीन–तीनपटक जितेर ह्याट्रिक गरे पनि आम मतदाता र १ नं. क्षेत्रका लागि खासै केही काम भने गर्न सकेका छैनन् ।

त्यसैले काठमाडौँका मतदाता चेन्जेबल हुन्छन् अतः टेस्ट चेन्ज गर्नका लागि एकपटक अन टेस्टेड उम्मेदवार भनेर रवीन्द्रलाई विश्वास गर्न पनि सक्छन् तर यही क्षेत्रमा अर्का गतिला उम्मेदवार रमेश खरेल यी दुवै उम्मेदवारका अघि चट्टान बनेर उभिएका छन् ।रवीन्द्रका पिता मनुजबाबु मिश्र जो बहुदलीय राजनीतिका खिलापमा थिए । सोही कारण संवत् २०४६ सालमा बहुदल आउँदा बहुदलको विरोधस्वरुप औपचारिक जीवनमा कहिल्यै बाहिर निस्केनन् ।

उनी वरिष्ठ चित्रकार, आख्यानकार र निबन्धकार हुन् । उनीजस्तो र जत्रो हाइट भएको चित्रकार नेपालमा विरलै छन् भन्दा गल्ती हुँदैन । मनुजबाबुको साधना कलाका लागि अप्रतिम लाग्छ । बहुदल कालमा घरभित्रै रहेर उनी बिते । निर्मल र स्वतस्फूर्त निर्दलीय चिन्तन बोकेका पिताको जेनेटिक गिफ्ट रवीन्द्रले पाएका रहेछन् । देशविदेशका ख्यातानाम स्कुल-कलेज पढे पनि अनेकानेक तर्कका पुरिया खोलेर नेपाली युवालाई एक दशक ढाँटे पनि उनले आफ्नो वास्तविक रूप यतिखेर आएर देखाएका छन् । पहिले साझा र पछि विवेकशील साझा भनेर उनीहरूका पुच्छर भएर लाग्ने युवाहरू अहिले रवीन्द्र धोकेबाज र पब्लिसिटीका लागि जे पनि गर्न चाहने राजनीतिककर्मी भएको गुनासो गर्दै छन् ।

वास्तवमा राजनीति विचार र आस्थाका आधारमा गरिने सामाजिक उत्तरदायित्व बोकेको एउटा स्वयंसेवी सेवा हो तर अहिलेको नेपालमा यसो भन्यो भने भन्ने मान्छे नै बेबकुफ र पागल हुन्छ । अहिले राजनीतिलाई तासको तुरुपजस्तो बनाइएको छ । मनी, मसल्स र माउजर जसको धेरै भयो उसैको राजनीति फलिफाप हुने जो देखियो । कांग्रेस र कम्युनिस्टका आदरणीय संस्थापक नेताहरूको जीवनी, उनीहरूको दुःख, जीवन भोगाइ र पार्टीप्रति लगाव तथा सतिसालजस्तो स्पाति भावनात्मक जोडाइ अचेलका फेसबुके पुस्ता र युट्युबे फलोअरहरूले कहाँबाट बुझ्नु ? अहिलेका नेताहरूको महान् गल्ती भनेकै न उनीहरूले अघिल्लो र पछिल्लो पुस्ताको मानसिकता पढे, न आफूहरूले वैचारिक राजनीतिको गतिलाई अग्रगामी परिवर्तन र समाज सुधारका रूपमा लगाए ।

केही नगरेपछि आम मतदाताले सधैँ–सधैँ एउटै मानिस नेता बनेर नौरङ्गी खादा, घाँटीसम्म आउने माला र अनेक सुविधाका हैसियतमा चिल्ला गाला भएको देख्दा ती नेताहरूका अनुहारमा, बोलीवचनमा र व्यवहारमा समेत आफूलाई कतै पनि पाएनन् । यसरी आफूलाई नपाउँदा जनताको हैसियतबाट अनेक वितृष्णाका बादलहरू मडारिए । त्यसरी उठेका बादलले एक कान, दुई कान र मैदान हुँदै समस्त देश र विदेशमा रहेका युवा, कामकाजी मतदाता र सपोर्टरहरूलाई क्रमशः विरोधी बनाउँदै लग्यो ।

नेता सुध्रिएनन् । उनीहरू पार्टीलाई शहीदको बलिदान र लाखौं कार्यकर्ताहरूको विचारबाट गोलबन्द बनाउनुको साटो आफूखुशी खोलिएका प्राइभेट लिमिटेड कम्पनीमा परिणत गरेर दादागिरी देखाउन थाले । अहिले त्यही भएको हो । देउवाले टिकट दिँदा आरजु हाबी हुनु भनेको कांग्रेसमा जीवन अर्पेका कार्यकर्ताको कत्लेयाम हो, ओलीले आफू विरोधीलाई छानी–छानी हुत्याएझैँ । मिल्छ भने अब नेताहरूले पार्टीको आईपीओ जारी गरेर शेयर बिक्री गर्न थालून् अनि व्यापारी र कुलीनले मात्र नेपालका पार्टीहरू कब्जा गर्ने दिन छिट्टै आउने छन् ।

प्रतिक्रिया दिनुहोस्