प्रअलाई आयोगले सोध्ये स्पष्टीकरण, स्थानीय तहका जनप्रतिनिधिका विषयमा मौन 

0
Shares

पर्वत।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ ।
जिल्ला अनुगमन समितिले पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक  छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको हो । आचारसंहिता उल्लङ्घनमा प्रअलाई स्पष्टीकरण सोधेको अनुगमन समिति स्थानीय  तहका जनप्रतिनिधिले आचारसंहिता उल्लङ्घन गरेको विषयमा भने मौन बसेको छ ।

मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचार संहिता अनुगमन समितिको बैठकले उजुरीका आधारमा छानबिन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ज विपरीत सामाजिक सञ्चालमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष विपक्ष लिई फेसबुक मार्फत भोट मागेको भन्दै २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा असोज ३० गते जारी विज्ञप्तिमा निर्वाचन आचार संहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने गरी स्पष्टीकरण माग गरिएको उल्लेख छ ।

कार्यालयले सोही विज्ञप्ति मार्फत कोही कसैले पनि आचारसंहिता विपरीतका गतिविधि नगर्न र नदोहोराउन समेत आग्रह गरेको भएपनि आचारसंहिता विपरीत प्रचारप्रसारमा सरकारी सवारी साधन सहित पुग्ने गरेका स्थानीय तहका जनप्रतिनिधिका विषयमा भने अनुगमन समिति मौन बसेको छ ।

जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य, जलजला वडा नं ८ का वडा अध्यक्ष हरिविकास जिसीले सरकारी सवारी साधनको दुरुपयोग गरेको तथा जलजलामा भएका घरदैलो र कोणसभामा गठबन्धनका पक्षमा मत मागेको भिडियोहरु सामाजिक सञ्जालमा आएका थिए  ।

निर्वाचन आचारसंहिताले स्थानीय तहका कार्यपालिका सदस्यहरुले आफ्नो पालिका भित्र चुनाव प्रसारमा भाग लिन रोक लगाएको छ भने अन्य पालिकामा जाँदा समेत आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर यो व्यवस्था लागू हुनेमा भने शंका देखिएको छ । सबैजसो स्थानीय तहका प्रतिनिधि चुनावमा प्रत्यक्ष मत माग्न जाने, सरकारी सवारी साधन देखि स्थानीय तहको बजेट समेत मत माग्न प्रयोग गर्ने खतरा छ । जिल्ला अनुगमन समितिले आचारसंहिता उल्लङ्घन गरेको देखिएका जनप्रतिनिधिलाई मौखिक रुपमा सचेत गराएको  जानकारी दिएको छ ।