सुशील कोइरालाको क्षेत्रमा को बलियो ?

0
Shares

बाँके ।

बाँके क्षेत्र नं. २ मा ५ स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ‘रहर’ या ‘रिस’ ले उम्मेदवार बनेकालाई छोड्दा ४ जनाको उपस्थिति बलियो देखिन्छ ।

नेपालगञ्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ मा एमाले र राप्रपाको तालमेल छ भने अरू एक्लाएक्लै चुनावी मैदानमा छन् । लगातार दोस्रोपटक जित्ने दाउमा रहेका जसपाका मो. इस्तियाक राईलाई एमाले र राप्रपाका उम्मेदवार महामन्त्री डा. धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणा र शिवसेनासम्बद्ध दिवाकर खनालले सहज हुन दिने देखिँदैन ।
विगतलाई हेर्दा यो क्षेत्रमा संगठन कांग्रेसको राम्रो थियो । पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति स्व. सुशील कोइरालाको चुनावी क्षेत्र हो यो ।

तर, पछिल्ला निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार नै नउठाउँदा उसका मत तितरबितर भएको छ । मधेस आन्दोलनपछि यहाँको जनमत एकै ठाउँमा स्थिर भएको देखिँदैन । कहिले कांग्रेसतिर त कहिले फोरम (जसपा) तिर गएको देखिन्छ । एउटै व्यक्तिलाई लगातार जिताउन भने यो क्षेत्रले कन्जुस्याइँ गरेको पाइन्छ । यो त्यही क्षेत्र हो, सर्वदेव ओझालाई एकपटक जिताएर अर्कोपटक ७५ मतमा सीमित गरिदिएको थियो ।हालैको स्थानीय चुनावलाई हेर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा कांग्रेसका मेयर र अध्यक्ष छन् । नेपालगञ्जमा कांग्रेसले सत्ता गठबन्धनको मत पाएको थियो भने डुडुवामा एक्लै जितेको थियो ।

गएको प्रतिनिधि सभाको निर्वाचनमा मो. इस्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएर चुनाव जित्नुभएको थियो । उहाँलाई एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत ल्याएर पछ्याउनुभएको थियो । कांग्रेसको समर्थनमा उठेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत ल्याएका थिए । १५ हजार एमालेले ल्याउँदा नेकपा थियो । यो मत पनि शुद्ध एमालेको देखिँदैन । राप्रपाको पनि शुद्ध आफ्नो मत होइन । इस्तियाकले पनि यत्ति मात्रै मतले चुनाव जित्ने अवस्था छैन । यो मतले खासै नतिजा दिने देखिँदैन ।

अब गएको स्थानीय तहको मत हेरौं । नेपालगञ्जमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत ल्याए । गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका कमरुद्दिन राईले १७ हजार ९ सय ५० मत ल्याउनुभएको थियो । एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत ल्याउनुभयो भने उपमेयरमा शान्ति ढकालले १० हजार ९ सय १५ मत पाउनुभएको थियो । मेयरमा राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ र उपमेयरमा बिन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत ल्याउनुभयो ।

डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरीले ६ हजार २ सय ७२ मत ल्याउँदा जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ र एमालेका सरोजकुमारी यादवले ३ हजार ७ सय १९ मत ल्याउनुभएको थियो ।वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा नेपालगञ्जमा जिकज्याक र डुडुवामा अलि प्रस्ट देखिन्छ । नेपालगञ्जमा कमरुद्दिन र डुडुवामा भण्डारीलालको मतलाई जसपाको मत मान्दा २२ हजार ७ सय मत हुन्छ । नेपालगञ्जमा कांग्रेसका प्रशान्त र डुडुवामा नरेन्द्रको मत जोड्दा २९ हजार ७ सय ३२ हुन्छ ।

एमालेका पशुपतिदयाल र सरोजकुमारी, राप्रपाका नन्दलालको मत जोड्दा २२ हजार ९ सय ९२ हुन्छ । नेपालगञ्जमा कांग्रेससँग जसपा, माओवादी, नेकपा समाजवादी, जनमोर्चा मिसिएकाले एउटा पार्टीको मत यति हो भन्ने यकिन हुँदैन । त्यसमा पनि मो. इस्तियाक र डा. धवलशमशेरको एउटै ‘व्यक्तित्व’ छ । यी दुई नेताले व्यक्तिगत मत धेरै तान्न सक्छन् । स्थानीय तहको उम्मेदवारलाई हेरेर यी दुईको मतलाई आँकलन गर्न अपुग हुन्छ ।

पटक–पटक मन्त्री भएका राई, नेपालगञ्जको दुईपटक मेयर भएका डा. राणाको व्यक्तिगत प्रभावले नतिजामा प्रभाव पार्छ । संगठन बलियो नै रहेको कांग्रेसले सुदीपनरसिंह राणालाई अघि सारेको छ । कोइरालाको निर्वाचन क्षेत्रमा देउवाले एकलौटि गर्दा सुदीप नरसिंहलाई आफ्नैभित्र चुनौती पनि देखिन्छ । सत्ता गठबन्धन टुटेपछि अन्तिममा मात्रै सुदीप नरसिंहले टिकट पाउनुभएको थियो । नेपालगञ्जमा शिवसेना समर्थित उम्मेदवार दिवाकर खनालले पनि आक्रमक प्रचार गरिरहनुभएको छ । जसपा र कांग्रेस कमिटी गठन र पार्टीलाई मिलाउन लागिपर्दा धवल र दिवाकरले प्रचारप्रसार गरिरहेका छन् । दिवाकरले हिन्दु मतलाई एकत्रित पार्ने प्रयासस्वरूप नेपालगञ्ज बजार बाहिर प्रचारप्रसार गरिरहनुभएको छ ।

मो. इस्तियाक आफूले मन्त्री हुँदा नेपालगञ्जको धेरै विकास गरेकाले आफ्नो प्रतिस्पर्धी कोही नरहेको दाबी गर्नुहुन्छ । डा. राणाको दुईपटक मेयर हुँदा नेपालगञ्जमा सयौं वर्ष हुन नसकेको विकास गरेको दाबी छ । सुदीप नरसिंहको कांग्रेसको मतलाई एकत्रित गर्दा नै चुनाव जित्ने भनाइ छ । दिवाकरले पनि जनताले एकपटक आफूलाई जिताउने दाबी गर्नुभएको छ ।
जुन उम्मेदवारले जे दाबी गरे पनि नेपालगञ्जको मत स्थिर नरहेकाले यसपालिको चुनाव कसले जित्छ भन्न सकिने अवस्था छैन । नेपालगञ्जको चुनावलाई पार्टीको केन्द्रीय तहबाट निगरानी भइरहेको छ ।