सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध अख्तियारमा मुद्दा

0
Shares

काठमाडौं । कैलालीको चुरे गाउँपालिका ३ मा रहेको गुप्तपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै मुद्द्दा दायर गरेको छ ।

अध्यक्ष मनिराम आर्चाय, सचिव हिक्मतसिंह भाट र कोषाध्यक्ष पृथ्वीराज बिष्टले समितिको २५ लाख २४ हजार ३ सय ४६ रुपियाँ हिनामिना गरेको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।

अध्यक्ष आर्याच सहितको समूहले आर्थिक वर्ष २०७२–०७३, २०७३–०७४ को वनको आम्दानी साधारणसभाबाट अनुमोदन नगराई आफुखुसी नक्कली बिल बनाएर भुक्तानी लिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

गुप्तपानी सामुदायिक वनका तत्कालिन सचिव भाट र कोषाध्यक्ष बिष्टले सामुदायिक वनको रकम खर्च गर्नका लागि सामुदायिक वन उपभोक्ता समितिको निर्णय एवं कार्ययोजना नै पास नभएको आवस्थामा उपभोक्ता समितिको चेकमा हस्ताक्षर गरी सोही उपभोक्ता समितिका अध्यक्ष आचार्यलाई दिने एवं औचित्य एवं विना विल भरपाई रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगले दावी गरेको छ ।

आयोगले समितिका सचिव भाट र कोषाध्यक्ष बिष्टलाई बिगो रकम अठार लाख अठतीस हजार तीन सय बहत्तर रुपियाँ कायम गरी दफा १७ मा उल्लेख भए अनुसार माग दाबी गरिएको छ ।

आयोगले अडिटर गौरीप्रसाद नाथले बद्नियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी गुप्तपानी सामुदायिक वन उपभोक्ता समुहको रकम हिनामिना गर्नमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको हुँदा अडिटर नाथ उपर भ्रष्टाचार निवारण ऐन, अनुसार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरेको छ ।