देशका विभिन्न स्थानमा एकै दिन ५ जनाको मृत्यु, १ जना घाइते

0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा उनीहरूको मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु

हिजो (शनिबार) दिउँसो मोरङ कटहरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय दिलिप साहको करेन्ट लागेर मृत्यु भएको छ । सोही गाउँपालिका–३ स्थित दुर्गा मन्दिरमा जडान गरिएको बिजुलीको तार खोल्ने क्रममा ११ हजार भोल्टेजको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै करेन्ट लागेर घाइते भएका सुनसरी इनरुवा नगरपालिका–७ बस्ने ४५ वर्षीय फागु सरदारको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

खोलाले बगाउँदा मृत्यु

हिजो (शनिबार) दिउँसोरुपन्देही, बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ३५ वर्षीय डिल्लीराज अर्यालको खोलाले बगाउँदा मृत्यु भएको छ । सोही ठाउँस्थित तिनाउ खोलाले बगाउँदा अर्यालको मृत्यु भएको हो ।

उक्त खोला तर्नेक्रममा उनी बगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शुद्वोधन गाउँपालिका–३ बेतानीस्थित तिनाउ खोलाको किनारमा उनको शव फेला परेको हो ।

त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका–८ बुटुनियाँ बस्ने जीवन बस्नेतको ४ वर्षीय छोरा ललित बस्नेतको नुहाउने क्रममा खोलाले बगाउँदा मृत्यु भएको छ । गहते र पातुखोलाको दोभानमा नुहाउँने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

सोही दोभानमा आफ्नै आमासँग नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको सोही ठाउँस्थित बोटलपुरमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

कैलाली, मोहन्याल गाउँपालिका–६ तल्लो सोल्टास्थित कर्णाली नदी किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, गजुरी गाउँपालिका–२ रातोमाटे बस्ने ५४ वर्षीया कमला अधिकारी रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदी किनारमा शनिबार मृत फेला परेकी छन् ।

गत सोमबारदेखि हराई रहेकी उनको खोजी गर्ने क्रममा उक्त नदी किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।