तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ

0
Shares

तनहुँ । तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको पुनः सञ्चालनमा ल्याइने भएको छ । सन् २०१२ सञ्चालनमा आएको जिपलाइन र स्काई रोप साइक्लिङ पिजन हिल रिसोर्ट एण्ड फन पार्कले पुनः सञ्चालनमा ल्याउने भएको हो ।

अबको केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । सापकोटाका अनुुसार, आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरिएको छ ।

‘मादी नदी वारपार गर्ने गरि पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्, ‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’

यस्तै, जिपलाइनका लागि एक हजार पाँच सय र स्काई रोप साइक्लिङ (दुई तर्फी)का लागि एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र एक करोड २५ लाख बजेट छुट्याएको सञ्चालक सापकोटाले जानकारी दिए ।

दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनाहरूसमेत थप्ने योजना रहेको उनी बताउँछन् ।

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।