डडेल्धुरा : प्रतिद्वन्द्वीसँग सहकार्य गरेर चुनाव जित्ने दाउ

0
Shares

डडेल्धुरा।

सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ ।

डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाउनु भएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाउनु भएको हो ।

प्रधानमन्त्री देउवाले मात्रै होइन, उहाँसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहनु भएका नेपाली काँग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा. तारा जोशीसँग सहकार्य गर्नु भएको छ । शनिबार संयुक्त पत्रकार सम्मेलनगर्दै नेपाली काँग्रेस (विपी) का तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्नुभएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा नेकपा (एमाले)सँगको गठबन्धन तोडेर भए पनि मल्लले आफ्ना निटतम प्रतिद्वन्द्वीसँग सहकार्य गर्नु संयोग मात्रै नभएको जिल्ला राजनीतिका जानकारहरु बताउछन् । नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले स्वतन्त्र उम्मेदवार डा. जोशीलाई समर्थन गरेको छ भने डा. जोशी लोकप्रिय नेताका रुपमा जिल्ला राजनीतिमा तीनदशकदेखि क्रियासिल हुनुहुन्छ ।

नेकपा(एमाले)ले नेपाली काँग्रेस (विपी) का उम्मेदवार मल्ललाई समर्थन गर्दै चक्रप्रसाद स्नेहीले दर्ता गराउनु भएको उम्मेदवारी फिर्ता लिएको थियो । एकीकृत समाजवादीका नेता डा. जोशीलाई समर्थन गरेको भन्दै एमाले डडेल्धुराले प्रतिनिधी सभा सदस्य पदमा मल्ललाई सघाउन नसकिने जनाएको छ ।

एमालेले प्रतिनिधी सभा सदस्यको उम्मेदवारी फिर्ता लिएपछि प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा उम्मेदवारी दर्ता गराउनु भएका गणेशप्रसाद जोशीको उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेस (विपी) डडेल्धुराले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा एमालेसँगको चुनावी गठबन्धन कायमै रहेको जनाएको छ ।

नेपाली काँग्रेस (विपी)सँग सहकार्य गर्न नहुने अडानमा रहेका एमाले नेता बिक्रमबहादुर शाहीले प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी विभाजनका बेला एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अध्यक्ष बन्नु भएका शाहीले केहि दिन पहिलामात्रै एमाले प्रवेश गर्नुभएको थियो । शाहीको समर्थनमा एमालेका केही जिल्ला स्तरीय नेताहरु खुलेरै प्रचार गरिरहेकाले नेपाली काँग्रेस (विपी) का उम्मेदवार मल्ललाई एमालेबाट प्राप्त हुने केहि भोटमा क्षति पुग्नसक्ने देखिएको छ । यसबाट प्रधानमन्त्री देउवालाई चुनाव जित्न केहि सहज हुनेछ ।

२०४८ यताका सबै निर्वाचनमा विजयी हुनुभएका प्रधानमन्त्री देउवा आसन्न मंसिर ४ गतेको निर्वाचनमा पनि आफ्नो इतिहास कायमै राख्ने दाउमा हुनुहुन्छ । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेल्धुराबाट विजयी हुनु भएको थियो । उहाँ २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली–६ बाट पनि विजयी हुनु भयो । सार्वजनिक रुपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको दाबस् गर्नुहुने प्रधानमन्त्री देउवा आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सात वटा स्थानीय तह छन ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५२ वटै वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा नेपाली काँग्रेस अगाडि छ । नेपाली काँग्रेसले २१ हजार सात सय ३५, नेपाली काँग्रेस (विपी) र नेकपा (एमाले) को गठबन्धनले १४ हजार ५१, माओवादी केन्द्रले १२ हजार आठ सय र एकीकृत समाजवादीले पाँच हजार ४१ मत पाएका छन । त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले दुई हजार पाँच सय ४८ मत पाएका छन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने नेपाली काँग्रेस र माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार प्रधानमन्त्री देउवालाई जित निकाल्न कठिन देखिदैन । उहाँलाई चुनाव जित्न नेपाली काँग्रेसकै मत पनि पर्याप्त हुने देखिन्छ । त्यसमा पनि सत्ता गठबन्धनको बलियो दल माओवादी केन्द्रले सहयोग गर्दा प्रधानमन्त्री देउवा थप बलियो बन्नु भएको छ । तथ्यांकमा प्रधानमन्त्री देउवा जति बलियो देखिनु भएको छ, राजनीतिक पुँजी भने त्यति सशक्त हुन सकेको छैन । पार्टीभित्रकै असन्तुष्टिले देउवाको साथ छोडेर गएकाहरूको समूह डडेलधुरामा नेपाली काँग्रेस (बीपी)को नाममा बलियो बन्दै गएको छ । मनोमानी गरेको भन्दै पार्टी केन्द्रमा पनि उँहाँका नीतिप्रति विमति चर्किन थालेको छ । पार्टी केन्द्रदेखि डडेल्धुरासम्मको असन्तुष्टिलाई जति सहज तरिकाले सम्बोधन गर्नुहुन्छ, प्रधानमन्त्री देउवाको सातौँ संसद् यात्रा उति नै सहज हुने स्थानीय अगुवाहरु बताउछन् ।

२०६४, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफूसँग पराजित माओवादी केन्द्रका नेता भट्टको सहयोगमा चुनाव जित्ने दाउमा रहनुभएका प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रका सबै मत पाउन चुनौती हुने देखिएको छ । प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएकाले भट्ट प्रदेशसभामा चुनाव लड्न राजी हुनु भएको चर्चा चलेको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका भट्टले प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) का पठानसिंह बोहरासँग प्रतिष्पर्धा गरिरहनु भएको छ । बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पनि हुन् । बोहराले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को सहयोगमा बाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचन जित्नु भएको हो ।

भट्टका मुख्य प्रतिष्पर्धी प्रदेशसभा ‘क’ मा नेकपा (एमाले) का उम्मेदवार बोहराले स्थानीय तहमा आफ्नो पार्टी तेस्रो भए पनि तीन वर्ष प्रदेश सरकारमा बसेर भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने कामहरु आफूले गरेको गराएकोले मुख्य जित्ने आधार त्यही भएको बताउनु भयो । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोबिन्दराज बोहरा र स्वतन्त्र उम्मेदवार डा. जोशीबीच कडा प्रतिष्प्रर्धा हुने आकलन गरिएको छ ।
राजनीतिक दलहरुबाट वाक्कदिक्क भएर स्वतन्त्र बन्ने प्रयासमा रहेका युवाहरुमाझ लोकप्रीय बन्न थालेका गुल्मीका युवा सागर ढकालले पनि प्रधानमन्त्री देउवालाई आराम दिन युवालाई विजयी बनाउनु पर्ने नारा अघि सार्नु भएको छ । निर्वाचन घोषणा भएदेखि डडेल्धुरामा घरदैलो अभियान चलाई रहनुभएका ढकालले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट इन्जिनियर महेश धामीसँग सहकार्य गरिरहनु भएको छ । ढकालले सबै राजनीतिक दलहरुको मत काट्न सक्ने भए पनि प्रधानमन्त्री देउवाको मत बढी काट्न सक्ने अनुमान छ ।