बौद्धिक पलायन र भ्रष्टाचार रोक्ने मेरो पहिलो एजेण्डा हो : प्रदीप पौडेल

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नेपालमा बौद्धिक पलान र भ्रष्टाचार रोक्ने आफ्नो पहिलो एजेण्डा रहेको बताउनुभएको छ ।

शनिबार टोखामा आयोजित चुनावी कार्यक्रममा पौडेलले नेपालको बौद्धिक पलान र भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधानका उपायहरु खाज्ने आफ्नो पहिलो प्राथमिक्ता रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली युवाहरु रोजगारी नपाएर विदेशिन बाध्य छन् । परिवारको छाक टार्न जीवन जोखिममा पार्न बाध्य छन् । काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा जान बाध्य भइरहेको छ ।’

आगामी निर्वाचनबाट जनताले यी समस्याको समाधानको मार्गदर्शन गर्न सक्ने नेतृत्वको छनोट गर्नुपर्ने पौडेलले बताउनुभयो । ‘ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट’ मा मुख्य समस्या रहेको भन्दै पौडेलले यी समस्यालाई ‘बीसीडी’ भनेर व्याख्या गर्नुभयो । पौडेल भन्नुभयो, ‘यो बौद्धिक पलायनको समस्या हो । यसलाई अंग्रेजीमा ब्रेन ड्रेन भनिन्छ । एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ । हामीले त्यस्तो नीति बनाउन सक्ने युवा नेतृत्वलाई यो चुनावबाट संसद्मा पुर्‍याउन सक्नुपर्छ ।’

देशको अर्को समस्या भ्रष्टाचार भएको बताउँदै नेता पौडेलले यदि भ्रष्टाचार यही ढंगले बढेर गयो भने राजनीतिले डेलिभर गर्ननसक्ने बताउनुभयो । राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, र करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको विश्वास नरहने उहँको भनाइ छ । त्यसैले भ्रष्टाचार अन्त्य गर्नका लागि पनि प्रतिबद्ध नेतृत्व चयन गर्ने यो सुनौलो मौका भएको भन्दै उहाँले यो अवसरलाई जनताले नगुमाउने बताउनुभयो ।

नेता पौडेलले अर्को जनताको विकासको चाहना पूरा हुन नसक्दा उत्पन्न हुने निराशालाई पनि समस्याका रुपमा चित्रण गर्नुभएको छ । ‘बीसीडीको डी भनेको डेभलपमेन्ट हो, विकास हो । हामी व्यवस्थित विकास चाहन्छौँ । तर हाम्रो समस्या समाधान हुँदैन । कम खर्चमा धेरै उपलब्धि हासिल गर्ने प्रकृतिको विकास मोडेल हामीले अपनाउन आवश्यक छ,’ उहाँले भन्नुभयोे, ‘म यो देशका यी समस्या आगामी चुनावबाटै सम्बोधन गर्न सक्ने आधारहरु देखिरहेको छु, त्यसका लागि म प्रतिबद्ध छु ।’

युवा नेता पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ । काठमाडौं क्षेत्र नंंं ५ मा नेकपा एमालेले वरिष्ठ नेता ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । यहाँबाट रन्जु दर्शना र हेमराज थापा लगायत स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा छन् । पहिलो पटक संघीय संसदको उम्मेदवारी दिनुभएका पौडेललाई काठमाडौंका मतदाताहरुले सहयोग गर्ने आश्वासशन दिएका छन् ।

एमालेका इश्वर पोखरेल गत निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित हुदै आउनुभएको नेता हो । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका पौडेल चुनावी मैदानमा उत्रिएपछि एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पोखरेललाई चुनौती थपिएको छ ।