दार्चुलामा बडू र ठगुन्नबीच कडा प्रतिस्पर्धा हुने आंकलन

0
Shares

 दार्चुला ।

अगामी मंसिर ४ गते हुने प्रतिनिभिसभा र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको विकट जिल्ला दार्चुलाबाट प्रतिनिधिसभामा ९ तथा प्रदेशसभामा पनि ९ दलको उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । आ–आफ्नो मनोनयन गरी चुनावी प्रचार–प्रसार अभियानमा गाउँ–गाउँमा रहेका उनीहरु जनतालाई विभिन्न प्रलोभन देखाई आफ्नो पक्षमा मतदान गर्न भनिरहेका छन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्नाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ०७० र ०७४ सालको चुनावमा लगातार जित हात पारेका नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई यसपालीको चुनाव जित्न केही चुनौतीहरु देखिएका छन् ।

उनलाई ५ दलीय बामलोकतान्त्रिक गठबन्धनको विपक्षमा उभिएर चुनाव लड्न पहिलो चुनौती हो भने, लगातार १० वर्ष जिल्लाको नेतृत्व गरेर पनि विकासका कामहरु गर्न नसक्नु अर्को चुनौती रहेको छ । ०७० र ०७४ मा चुनाव जितेर संसद् बनेका उनले जिल्लाको विकासमा खासै केही काम गर्न नसकेको यहाँका मतदाताहरु बताउदै आइरहेका छन् । लगातार १० वर्ष सम्म संसद् हुँदै केपी शर्मा ओली नेतृत्वको सरकारका बेला दुई तिन महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका उनले कर्मचारीको सरुवा गर्न बाहेक विकास निर्माणका कामहरु केही गर्न नसकेको मतदाताहरुको आरोप छ ।

तिनै सांसद् ठगुन्ना यस पटक फेरि प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाका जनता संग मत मागिरहेका छन् । एमाले दार्चुलाका धेरै जसो आकांक्षी नेताहरुलाई पछारेर टिकट ल्याएका उनलाई यसपाली चुनाव जित्न कठिन देखिएको उनकै पार्टीका तल्लो तहका नेताहरुले बताउदै आइरहेका छन् ।

०७० र ०७४ मा उनले जनता सामु गरेका प्रतिबद्धताहरु अहिले सम्म पुरा गर्न सकेका छैनन् । २०७० सालको चुनावमा सार्वजनिक भएको उनको घोषणा पत्रको पहिलो बुदामा रहेको (दार्चुलालाई पिछडिएको क्षेत्रको सूचिमा समावेश गर्नेछौ) भन्ने बुदा समेत पुरा नगरेको याहाँका मतदाताहरु चोक चोक गल्ली गल्लीहरुमा कुराहरु गर्दै आइरहेका छन् । यति मात्रै नभएर उनले ०७० कै प्रतिबद्धतापत्रमा जिल्लाका ४१ वटै गाविसको सदरमुकाममा सडक पुर्‍याउने तथा एम्बुलेन्स सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए जुन अहिले सम्म पूरा हुन सकेको छैन् । तिनै ठगुन्नाले यसपाली चुनाव जिते तीन वर्षभित्र टिंकर सम्म सडकको ट्र्याक खोल्ने बताउदै पुन: जनतासंग मत मागिरहेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार तथा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू पनि अहिले गाउँ–गाउँ गएर मतदाता संग मत मागिरहेका छन् । उनले २०४८ साल देखी जिल्लाको विकास आफूले गरेको र आफूले हार्दा जिल्लामा कुनै विकास नभएको भन्दै जिल्लाको विकासका लागि आफुलाई मत दिन आग्रह गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर दुई–दुई पटक संसद् भंग गरेर संविधान मास्न खोजेको तथा आफ्नो पार्टी संविधानको रक्षा गर्न कडा रुपमा उभिएको बताउदै आएका छन् । देशलाई अस्थिरता र अन्धकार तिर लैजाने ओलीका उम्मेदवारलाई एक विश्राम दिन पनि उनले जनतालाई आग्रह गर्दै आएका छन् । जिल्लाको विकासका लागि आफूलाई मत दिन मन्त्री बडूले जिल्लाका मतदातालाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि जिल्लाबाट नेपाली कांग्रेसबाट दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेबाट गणेश सिंह ठगुन्ना, नागरिक उन्मुक्ती पार्टीका तारा दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बम, नेश्नललिष्ट पिपुल्स पार्टीका धर्म सिंह दयाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र सिंह धामी, संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च पार्टीका रमेशराम लुहार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामी र नेपाल किसान पार्टीका विश्वराम दुवालले मनोनयन दर्ता गराएका छन् ।

नौ छुट्टाछुट्टै पार्टी उम्मेदवारहरु चुनावी मैदानमा भएपनि प्रतिनिधिसभामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्ना बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिहेको छ ।

यस्तै प्रदेशसभा सदस्य पदका लागि पनि स्वतन्त्र सहित ९ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आ–आफ्नो चुनावी एजेण्डाका साथ उनीहरुले मतदाताहरुसंग मत मागिरहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ बाट पाच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका बिक्रम सिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्र बहादुर बम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामी, स्वतन्त्रबाट शंकर सिंह धामी, नेकपा एमालेका हरदेव जोशीले उम्मेदवारी दर्ता गराई मत मागिरहेका छन् ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ बाट गठबन्धनबाट सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री मानबहादुर धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर सिंह धामी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना र नेकपा एमालेका रामदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा ४३ हजार ६ सय ११ महिला र ४५ हजार ५ सय ४३ जना पुरुष मतदाता रहेका छन् ।