एकै क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार

0
Shares

स्याङ्जा । जिल्लाको क्षेत्र नम्बर २ (क) मा सत्ता गठबन्धनकै दुई दलका नेताले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र भट्टराईले उम्मेवारी दिए पनि यसै क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट भोजराज अर्यालले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गठबन्धनभित्रकै कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले एकै क्षेत्रमा उम्मेदवारी दर्ता गराउनु भएको हो । गठबन्धनका दुई दलका नेताले उम्मेदवारी दर्ता गराएपछि कार्यकर्ता अलमलमा छन् ।

जिल्लाको ठूलो बजार वालिङसहित दक्षिणी–पूर्वी क्षेत्र समेटिएको निर्वाचन क्षेत्र नम्बर २ (क) मा कांग्रेसले आफ्नो पकड रहेको दाबी गरेको  । कांग्रेसका उम्मेदवार अर्यालले गठबन्धनको निर्णय सबै दलले मान्नुपर्ने बताउँदै आधिकारिक रूपमा आफू मात्र उम्मेदवार भएको दावी गर्नुभयो ।

उहाँले गठबन्धनभित्रका नेताले एकको विरुद्धमा उम्मेदवारी दिँदा त्यसको असर अन्य क्षेत्रमा पनि पर्ने भएकाले यो समस्या मिलाउनुपर्ने धारण राख्नुभयो । ‘गठबन्धनको निर्णयअनुसार आधिकारिक उम्मेदवार म मात्र हो,’ अर्यालले भन्नुभयो, ‘गठबन्धनबाट अन्य कोही उम्मेदवार हैन, अन्य कसैले दिएको उम्मेदवारी फिर्ता हुनुपर्छ, नभए त्यसको असर अन्य क्षेत्रमा पनि पर्न सक्छ ।’

एकीकृत समाजवादीका भट्टराईले निर्वाचन क्षेत्र नं. २ (क) मा मित्रवत् प्रतिस्पर्धा हुने बताउनुभयो । गठबन्धनले सुरुमा आफुलाई निर्णय गरेको हुँदा निर्वाचनमा होमिएको उहाँको भनाइ छ । भट्टराईले अधिकार र पहिचानको लडाइँका साथसाथै विकास निर्माणमा पछाडि परेको क्षेत्रको जनताको उत्थानका लागि यस क्षेत्रबाट उम्मेदवारी दिएको तर्क गर्नुभयो । भट्टराईले भन्नुभयो, ‘गठबन्धनकै दुई जना उम्मेदवार भए पनि हाम्रो मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

यता आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जाका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका कांग्रेसका उपसभापति धनराज गुरुङले यसपटक आफैँलाई मत हाल्न नपाउने हुनुभएको हो । उहाँ निर्वाचन क्षेत्र नम्बर १ को अर्जुन चौपारी गाउँपालिकाको मतदाता हुनुहुन्छ ।

यसैगरी स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका रामचन्द्र भट्टराईले पनि आफैँलाई मत दिनबाट वञ्चित हुनुहुनेभएको छ । उहाँको नाम मतदाता नामावलीमा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पर्ने चापाकोट नगरपालिका रहेको छ ।