पर्वतको पाङराङमा सुन्तला दोब्बरले उत्पादन हुने अनुमान

प्रत्येक कृषकको लाखौँ आम्दानी

0
Shares

पाङराङ, पर्वत । व्यबसायिक सुन्तला खेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङराङका कृषकले यस बर्ष सुन्तला उत्पादन दोब्बर हुने अनुमान गरेका छन ।

अनुकुल मौसम र रोगकिराको प्रकोप नभएका कारण यस बर्ष दोब्बर सुन्तला उत्पादन हुने अनुमान गरेका हुन । यस बर्ष कतिपय कृषकले सुन्तला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्ने लक्ष्य राखेका छन ।

यस बर्ष कम बर्षा भएको तथा रोग किरा र असिनाको प्रकोप समेत नभएका कारण सुन्तला उत्पादन दोब्बर हुने अनुमान गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताउनुभयो । गत बर्ष सहकारी मार्फत ८० लाखका सुन्तला निर्यात गरेका कृषकले यस बर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उहाँको भनाई छ । ‘यो बर्ष मौसमी अनुकुलता भएका कारण उत्पादन दोब्बर हुने अपेक्षा छ।’ अध्यक्ष कुवँरले भन्नुभयो‘कतिपय कृषकले पाँच लाख भन्दा बढीका सुन्तला बेच्नुहुनेछ ।’

मौसमी अनुकुलताका कारण यो बर्ष उत्पादन बढ्ने आशमा रहेको सबै कृषकको भनाई छ । सहकारीका अध्यक्ष क्षेत्रीले यस बर्ष सुन्तला बिक्रीबाट ५ सम्म आम्दानी गर्ने लक्ष्य राखेको बताउनुहुन्छ । उहाँ मात्रै होइन अर्का कृषक तोयराजकुवँर पनि यस बर्ष ५ लाख भित्र्याउने आशमा हुनुहुन्छ । ‘यो बर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिन सक्ने आशमा छु ।’ उहाँले भन्नुभयो ।

परंपरागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तला खेती शुरु गरेपछि यहाँका २ सय भन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ्ग, सात्ले, सुलीकोट मात्रै होइन छिमेकी कुर्घाको ठुलास्वाँरा, नुवाखर्क लगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट ब्लक क्षेत्रको रुपमा बिकास गर्न थालिएको छ ।

लगायतका क्षेत्रमा हरेक वर्ष खेती बिस्तारको काम भैरहेको छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारी मार्फत बेच बिखन गर्न थालेपछि देशका मुख्य–मुख्य शहरहरुमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाण्डौ, बुटवल, बिराटनगर लगायतका व्यापरीहरुले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुवँ।ले बताउनुभयो ।

कृषकले अहिले सुन्तला सिजनमा बिक्री गर्दा कम आम्दानी भएकाले कोल्डस्टोर बनाउन सके धेरै आम्दानी हुन सक्ने बताएका छन । फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन कोल्डस्टोरमा राखेर बेसिजनमा बिक्री गर्न सकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष तारालाल कुवँरको भनाई छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुन सके ढुवानीका लागि अझै सहज हुने उहाँको भनाई छ ।