डेंगु नियन्त्रण गर्न हरेक वडामा स्प्रे



Exif_JPEG_420

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु नियन्त्रण गर्न सुरु गरिएको किटनाशक औषधिसहितको स्प्रे नगरका सबै वडामा पुगेको छ ।

डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको जनस्वास्थ्य शाखाले जनाएको छ । असार अन्तिम साताबाट डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभर लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रमसँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो ।

उपमहानगरले हेटौंडा बजार क्षेत्रका २, ४, ५, १, १० नम्बर वडालाई प्राथमिकतामा राखेर स्प्रे अभियान चलाइएको छ । जोखिमपूर्ण वडाका रुपमा रहेको ४ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेको अभियान सञ्चालन गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

उपमहानगरले डेंगु नियन्त्रणका लागि नियमितरुपमा स्प्रे अभियानसहित बिरामीलाई उपचारमा सहयोग पु¥याउन हेटौंडा अस्पताललाई २ हजार भन्दा बढी किट सहयोग गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।

किट अभावका कारण नगरबासीसहित अन्य बिरामीले उपचारमा समस्या व्यहोरेपछि नगरपालिकाले खरिद गरेर किट हस्तान्तरण गरेको उहाँले बताउनुभयो । नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको उहाँले कथन छ । हाल नगरबासीले घरभित्रको सुरक्षालाई ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानीयको मागअनुसार स्प्रे अभियान चलाइएको बताइएको छ । हेटौंडा बजार क्षेत्रमा डेंगुका बिरामी धेरै देखिएकाले अभियानलाई बजारकेन्द्रित गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९५ जना डेंगु संक्रमणमा रहे पनि चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म ३ हजार ७ सय ६२ जना डेंगु संक्रमित भइसकेका छन् । हालको संक्रमण दरअनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

हेटौंडामा डेंगुका बिरामी उपचारपछि निको भए पनि दोहोरिने बिरामी पनि फेला परेको तथ्यांक छ । संक्रमणदर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । अभियानअनुसार वडातहमा गएर सरोकारवालाको सहभागितामा लार्भा नष्ट गर्न सचेतना कार्यक्रम गर्दै वडाका जोखिमपूर्ण ठाउँ सफा गर्ने कार्यक्रम सञ्चालन भइरहेको जनस्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्