रुपन्देहीमा प्रतिनिधिसभा ५ का लागि ८८ र प्रदेशसभा १० का लागि ११४ जना चनावी मैदानमा

0
Shares

बुटवल । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको ५वटा निर्वाचानक्षेत्रका लागि लागि ८८ र १० वटा प्रदेश सभा निर्वाचनका लागि ११४ जना गरि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । रुपन्देहीमा पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा गरी १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधिसभाका लागि ८८ जना र प्रदेश सभा सदस्यका लागि ११४ जनाले उम्मेदवारी दिएका छन् । बुधबार रुपन्देहीस्थित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकमा नौजनाले उम्मेदवारी फिर्ता लिएको र तीनजनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताउनु भयो ।

उम्मेदवारी खारेज हुनेमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–२ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्ववार बन्नु भएका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेद्ववारी दिएका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको आयोगले बताएको छ ।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । नौजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।