एसईईको परीक्षा कार्यतालिका सार्वजनिक

0
Shares

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १० ) ले शैक्षिकसत्र २०७९ को एसईई चैतको दोस्रो साता सञ्चालन गर्ने भएको छ । बोर्डले हिजो बिहीबार कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता गर्ने उल्लेख गरेको छ ।

बोर्डले पहिलो पटक कार्यतालिका सार्बजनिक गरी तोकेको मिति अनुसार परीक्षाको काम अघि बढाउन निर्देशन दिएको छ । बोर्डले तोकिएको समयमा काम सम्पन्न गर्न सबै तयारी थालिएको जनाएको छ । कार्यतालिका अनुसार कार्तिक मसान्तसम्म प्रदेशले आवेदन फाराम छपाई र वितरण गर्ने , मंसिर मसान्तसम्म जिल्लाले आवेदन फाराम भराउने र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउने तालिका सार्वजनिक गरेको छ ।

एसईईको परीक्षा तालिका माघको पहिलो हप्ता प्रकाशन गर्ने, मसान्तसम्म परीक्षा केन्द्र निर्धारण र सिम्बोल नम्बर कायमगर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षाकेन्द्र इन्ट्री र रुजुगर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउने तालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार आउँदो वर्ष साउनको अन्तिममा पुरक परीक्षा सञ्चालन गर्ने उल्लेख छ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गर्ने बोर्डले सार्वजनिक गरेको सुचनामा उल्लेख गरेको छ ।