धौलागिरि आधारशिविरमा फसेका १४ जनाको उद्धार

0
Shares

म्याग्दी ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने धौलागिरि आधार शिविरमा अलपत्र परेका १४ जनाको दुई दिन लगाएर उद्धार भएको छ । प्रतिकुल मौसमका कारण आधार शिविरमा फसेका १४ जनालाई (मङ्गलवार) र (बुधवार) गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

धौलागिरि आधार शिविर पुगेका पर्यटक गाइड, खच्चड चालक र भरिया गरी १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले बताउनुभयो । उनीहरुलाई मंगलवार पोखराबाट गएको अल्टीच्युड एअर र बुधवार सिम्रिक एअरको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु उद्धारपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

हेलिप्कटरमार्फत उद्धार गरिएका पाँचजना शेर्पा गाइडलाई अस्ति मंगलवार नै पोखरा लगेर छाडिएको थियो । यसैगरी ५ जनालाई म्याग्दीको ताकम ल्याएर छाडिएको थियो भने हिँजो बुधबार धोलागिरि आधारशिविरभन्दा तल इटाली बेसक्याम्पमा रहेका ४ जनालाई उद्धार गरिएको डिएसपी भारतीले बताउनुभयो । उद्धार गरिएका ९ जना मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फाका खच्चड व्यवसायी र गोठालाहरु हुन् । आधार शिविरमा पुगेर वर्षा र हिमपात परेपछि अलपत्र परेकाहरुको उद्धारका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालय मुस्ताङले पनि समन्वय गरेको थियो ।

धौलागिरि आधार शिविरसम्म सामान ढुवानी गर्न लगेका आफ्नो २८ र अन्यका १७ गरी ४५ वटा घोडा–खच्चड वर्षा र हिमपातमा परेर मरेको मार्फाका माईकल परियारले बताउनुभयो । दसैँअघि असोज १७ गते मार्फाबाट हिँडेर आधारशिविर पुगेर आरोहीका सामानहरु लिएर फर्कने क्रममा भारी वर्षा र हिमपात भएपछि आफूहरु हिउँमा फसेर सम्पर्कविहिन हुनुपरेको उहाँले बताउनुभयो ।

वर्षा र हिमपातले आफूहरु बाँच्न सफल भए पनि सामान बोकाएका घोडा–खच्चड बचाउन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको परियारले गुनासो गर्नुभयो । अविरल वर्षासँगै परेको भारी हिमपातको कारणले घोडा खच्चडले समयमै उद्धार तथा खानेकुरा नपाउँदा मृत्युवरण गर्नुपरेको बताइएको छ ।दसैँको टिकाको दिनदेखि ५ दिनसम्म परेको अविरल वर्षासँगै भारी हिमपात र प्रतिकुल मौसमका बाबजुद उद्धारमा ढिलाई भएको हो ।

बंगालको खाडीमा विकसित भई नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा लगातार ५ दिनसम्म भारी हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए । आरोहणमा गएका आरोहीहरुको सामान मुस्ताङको मार्फाबाट घोडा खच्चडमार्फत ढुवानी गरिएको थियो । धौलागिरि आधार शिविरको आसपास याकखर्क, हिडनभ्याली, फ्रेन्चपास हुँदै बेसक्याम्प पु¥याएर फर्कंदै गर्दा अविरल वर्षासँगै भारी हिमपात भएपछि उनीहरू फ्रेन्चपासमै फसेका थिए ।

अहिले आधारशिविरमा अन्य आरोही तथा भरियाहरु कोही भए नभएकोबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कतिपय पर्यटक, गाइडलगायत सिधै टे«किङ एजेन्सीमार्फत हिमालको आधार शिविरतर्फ जाने गरेको भए पनि स्थानीयस्तरमा समन्वय नहुँदा विपद्को समयमा उद्धारमा समस्या हुने गरेको छ ।