गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

0
Shares

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाई भेट गर्नु भएको छ । भेटमा नेपाल–चीनबीचको आपशी सम्बन्ध, आपशी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताउनुभयो । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’

उहाँले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउनु भयो । त्यस्तै गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताउनु भयो ।

नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धका साथसाथै सामाजिक र सास्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृति विपद् र महामारीको बेलामा पु¥याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत धन्यवाद दिनुभयो । राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेबारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गर्नुभयो । स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सदभाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गर्नुभयो ।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सदभाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताउनु भयो । पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिका, सामाजिक र सास्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सदभावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताउनु भयो ।
खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

मंसिर चार गते निधारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिनुभयो । आफू जुनसुकै जिम्मेबारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सदभावलाई सदैव सम्झिरहने यान्छीले बताउनुभयो ।

गृहमन्त्री खाणले नेपालमा संवैधानिक व्यवस्था अनुसार ५र५ वर्षमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने जानकारी गराउँदै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक सम्पन्न गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयो ।