नवौं राष्ट्रिय खेलकुद : खेलाडीले लगाएको मेडल फिर्ता मागियो

0
Shares

पोखरा । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार भएको ईपी इभेन्टका विजेतालाई खेल सकिएपछि प्रदान गर्ने पदक नभएपछि दिउँसो प्रदान गरिएको पदक मागिएको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज फेन्सिङमा आएपछि खेलाडीहरूलाई प्रदान गरिएको मेडल मागेर जोगार्ड गर्दै ईपि एभेन्टका खेलाडीलाई लगाइदिएको हो ।

आफूले लगाएको स्वर्णपदक फुकालेर दिएका स्वर्ण विजेता एक खेलाडीले आफूसँग मेडल मागेपछि सुरुमा आफू आश्चर्यमा परेको बताए । ‘मेडल त फिर्ता दिन्छु भनेको छ । मेडल पुगेन रे त्यो भएपछि हाम्रो मेडल दिएको हो । ठिकै छ फोटो खिचिहाल्यो’ उनले भने, ‘खै किन ? हो यस्तो भएको । यो आयोजकको कम्जोरी हो ।

हिजो एक जना खेलाडी बिरामी थियो त्यसलाई पनि १ घण्टापछि बल्ल एम्बुलेन्सले लग्यो ।’ प्रतियोगितामा आवश्यक तयारी केही पनि नदेखिएको उनले बताए । उनले थोरै खेल हुँदा त भद्रगोल देखिएको २८ गतेबाट त झन भद्रगोल हुने बताए । ‘हामी त भाग्यमानी हौँ । अहिले यो मात्रै खेल भएकाले सबैले हेरेको छ । सबै खेल भयो भने के होला ? उनले व्यक्ति प्रतिस्पर्धामा रजत र समुहमा स्वर्ण हासिल गरेका छन् । आफूले मेडल लगाएर घाटी गहुँगो बनाउने चाहना भए पनि आयोजकको कारण त्यो पुरा नभएको सुनाए । ‘आज घाँटी गह्रुङ्गो बनाउँ भनेको दुईवटा मेडल लगाएर सपना अधुरै रह्यो ।

हाम्रो गलामा भएको चिज माग्न कत्ति पनि लाज मानेनन् । किन देखावटी रूपमा लगाइदिनुपर्छ र ? मेडल आएपछि दिएको भए भइहाल्थ्यो त ।’उता फेन्सिङ संघले भने आफ्ना कमिकम्जोरीलाई ढाक्ने प्रयास गरेको छ । नेपाल फेन्सिङ महासंघका महासचिव सुजन लाल श्रेष्ठले खेलाडीसँग मेडल नमागेको बताए । खेलाडीलाई धमाधम मेडल मागरे सजाइ मन्त्रीको अघि ल्याइएको मेडललाई उनले मेडल राखेपबाटै आएको बताए ।

‘शुरुमा मेडल नआएकै हो । हामीले सबै इभेन्ट सकेपछि दिने योजना बनाएका थियौँ । अचानक मन्त्री ज्यु आएपछि ढिला भएको हो’ उनले भने,‘इभेन्ट हुँदा मात्रै मेडल ल्याउने गरेका छौँ । एकैचोटी सबै लिएर आउँदा हराउन सक्ने भएकाले इभेन्ट अनुसार ल्याएका हौँ ।’मन्त्री गहतराजले ईपी सामूहिक इभेन्टमा स्वर्ण विजेता त्रिभुवन आर्मी, रजक विजेता एपिएफ क्लब र कास्य विजेता सुदूरपश्चिम र प्रदेश १ लाई पदक प्रदान गरेका थिए । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेका हुन् ।

सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूर पश्चिमले कास्य पदक जिते । फेन्सिङको पदकमा बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, एक रजतसहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसैगरी, प्रदेश १ ३ कास्यसहित पाँचांै स्थानमा रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश १ कांस्यपदक प्राप्त गरेको छ ।