आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न आयोगको तीन बुँदे निर्देशन

0
Shares

 काठमाडौं । 

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले बुधबार तीन बु“दे निर्देशन दिएको छ ।

विभिन्न स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव प्रचारमा खटिएकालाई मध्यनजर गरी आयोगले सो निर्देशन दिएको हो । निर्वाचन आचारसंहिताविपरीत स्थानीय तहका कार्यपालिका सदस्यहरू कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकोले कारबाही गर्न निर्देशन दिइएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जनप्रतिनिधिलाई कारबाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख)लाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउन पनि आयोगले निर्देशन दिइएको छ । कारबाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न पनि निर्देशन दिइएको छ ।

स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका पदाधिकारी र सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन । त्यसका साथै निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि) को प्रयोग नगरी आचारसंहिता प्रतिकूल नहुने गरी संलग्न हुन सकिने व्यवस्था छ ।