स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

0
Shares

काठमाडौं । 

मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सागर ढकालले ‘सिरिन्ज’ चुनाव चिह्न पाउनुभएको छ ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा– ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकलाई पुतली चुनाव चिह्न परेको छ ।नेपाली कांग्रेसका नेता रामचचन्द्र पौडेलसँग भिड्न तनहुँ –१ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिह्न पाउनुभएको छ । जोशीले गत निर्वाचनमा समेत पौडेलको खिलापमा बागी उठेर पौडेललाई हराउन भूमिका खेल्नुभएको थियो ।

उता नेकपा एमालेबाट टिकट नपाएपछि रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज प्राप्त गर्नुभएको छ । पार्टी कमिटीबाट उम्मेदवारका रूपमा सिफारिस भए पनि अध्यक्ष ओलीले भुसाललाई उम्मेदवार नबनाएपछि विद्रोह गर्नुभएको हो । त्यसै गरी एमालेले काठमाडौं– ७ मा श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान सांसद रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाउनुभएको छ । एमालेबाटै विद्रोह गरी रौतहट– ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्यान्ड पाइप (चापाकल) कायम भएको छ ।

उता नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिह्न लौरो पाउनुभएको छ । एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीको प्रतिस्पर्धी बन्नुभएकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिह्न पाउनुभएको हो ।

त्यसै गरी चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई माछा चुनाव चिह्न परेको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । एमालेले उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गरेको कोइरालाले दाबी गर्नुभएको छ । त्यस्तै सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले निर्वाचन चिह्न ‘सूर्यमुखी फूल’ पाउनुभएको छ । निर्वाचन कार्यालयले बुधबार नै सबै स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिसकेको छ । उम्मेदवारहरूले चुनाव चिह्न लिएपछि चुनावी प्रचारलाई तीव्र पार्ने अभियानमा जुटेका छन् ।

आसन्न निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएका धेरैजसो स्वतन्त्र तथा पार्टीका विद्रोही उम्मेदवारहरूले मनोनयन फिर्ता गरेका छैनन् । राजनीतिक दलका कार्यकर्ताले पार्टीको निर्णय चित्त नबुझेर हालेका केही बागी उम्मेदवारी फिर्ता लिए पनि विशेष चासोका साथ हेरिएका बागी उम्मेदवारहरू पार्टीको ह्विप नमानी अघि बढेका छन् ।

पार्टीका शीर्ष नेताहरूकै क्षेत्रमा समेत बागी र स्वतन्त्र उम्मेदवारहरूले बुधबार चुनाव चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीबाट विभिन्न निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध उत्रिएका बागी उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गराइएको छ । समाजवादीले निर्वाचन आयोगलाई पत्र नै लेखेर प्रतिनिधिसभा र प्रदेशसभाका २२ स्थानको उम्मेदवारी फिर्ता लिएको हो । पार्टी अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता भएको पत्र मार्फत जानकारी गराउनुभएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली बुधबार प्रकाशित गरेको छ ।आयोगले विभिन्न उम्मेदवारीउपर परेको उजुरीको छानबिन गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उम्मेदवारी फिर्ता लिएका र उजुरी उपर छानबिन गरी रद्द गरिएका बाहेकको अन्तिम नामावली प्रकाशित गरिएको हो । आयोगले स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नु अघि बुधबार बिहान १० बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन सकिने समय दिइएको थियो । आयोगकाअनुसार प्रतिनिधिसभाका लागि २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

जसमध्ये २ हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला रहेका छन् ।प्रदेशसभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसमा आठ सय ५८ पुरुष र ८५ महिला रहेका छन् । निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए । त्यसै गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेका दलका उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको थियो । अन्य उम्मेदवारलाई भने आयोगले निर्वाचन चिह्न समूह मध्येबाट कुनै एउटा चिह्न दिएको थियो । स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्न समूहबाट एउटा चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न उम्मेदवार वा उम्मेदवारले तोकेको प्रतिनिधिलाई प्रदान गरिएको थियो ।