डडेल्धुरामा एमाले, एकीकृत समाजवादी र विपी कांग्रेसबीच गठबन्धन

0
Shares

डडेल्धुरा । प्रतिनिधीसभा सदस्य पदका लागि नेकपा (एमाले)बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभाका पूर्व सांसद चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएसँगै डडेल्धुरामा नेपाली कांग्रेस (विपी), नेकपा (एमाले) र (एकीकृत समाजवादी) बीच चुनावी मोर्चाबन्दी भएको छ ।

नेकपा (एमाले)ले प्रतिनिधी सभामा कांग्रेस (विपी)का उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने सहमति अनुरुप प्रतिनिधी सभा सदस्य पदमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएको हो ।

पार्टीको निर्णयअनुसार आफुले उम्मेदवारी दर्ता गराएको र कांग्रेस (विपी)सँग भएको सहमति अनुसार पार्टी केन्द्रीय कार्यालयबाटै आफ्नो उम्मेदवारी फिर्ता ल्याइएको एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले बताउनु भयो ।

एमालेले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी)का उम्मेदवार मल्ललाई सघाउने भएपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट एमालेका उम्मेदवार पुर्वमन्त्री पठानसिंह बोहरालाई सघाउने सर्तमा नेपााली काँग्रेस (विपी)ले पनि उम्मेदवारी फिर्ता गरेको छ ।

प्रदेश सभा क्षेत्र नं. ‘क’ मा एमाले उम्मेदवार बोहरालाई सघाउने सहमति भएकाले नेपाली कांग्रेस (विपी) का उम्मेदवार गणेशप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिनुभएको नेपाली कांग्रेस (विपी) डडेल्धुराका सभापति भरत नेपालीले बताउनु भयो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा भने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशीलाई नेपाली काँग्रेस (विपी)ले सघाउने भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने कसरतमा रहेका डा. जोशीलाई सत्तारुढ गठबन्धनबाट टिकट नमिलेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

डा. जोशीले सत्तारुढ गठबन्धनको अपहेलनामा परेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको र सिंगो पार्टी पंक्तिको समर्थन डा. जोशीलाई भएको नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा जिल्ला कमिटि अध्यक्ष कविन्द्र बिष्टले बताउनुभयो । उहाँले प्रतिनिधी सभामा कांग्रेस (विपी) का उम्मेदवार मल्ललाई समर्थन गरिएको जानकारी दिनुभयो । डा. जोशीले चुनाव चिन्ह लालटिन पाउनु भएको छ ।

नेपाली कांग्रेस (विपी) का सुदूरपश्चिम प्रदेश सभापति करुणाकर भट्टले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उदेश्यले जिल्लामा एमाले र (एकीकृत समाजवादी)सँग चुनावी गठबन्धन बनेको बताउँदै दुबैपार्टीप्रति कृतज्ञता जाहेर गर्नुभयो ।

उहाँले डडेल्धुरामा अब सत्तारुढ गठबन्धन पराजित हुने जिकिर गर्नुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट एमालेका नेता पुर्व जिविस सभापति गजेन्द्रबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।