सल्यानमा दुई जनाकाे उम्मेदवारी फिर्ता, १८ जना प्रतिस्पर्धामा

0
Shares

सल्यान । सल्यानमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका डिल्लीबहादुर बुढाथोकी र प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका एकराज डाँगीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रदेशसभा ‘क’ का लागि उम्मेदवारी दिएका एकराज डाँगी कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री हुनुहुन्छ भने बुढाथोकी पनि कांग्रेसकै सदस्य हुन् । आफूले टिकट नपाएपछि डाँगीले र केन्द्रको निर्णय चित्त बुझ्दो नभएको भन्दै बुढाथोकीले उम्मेदवारी दिनुभएको थियो ।

स्वतन्त्र उमेदवार डाँगी र बुढाथोकीले बुधबार दिउँसो साढे १२ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानमा आएर उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभा र दुई क्षेत्रको प्रदेशसभातर्फ १८ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा २० जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता लिएका दुवैले गठबन्धनलाई सघाउने बताएका छन् । गठबन्धनले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने भने पनि शुभचिन्तकको सुझाव र स्वविवेकले उम्मेदवारी फिर्ता लिएको स्वतन्त्र उमेदवार डाँगीले जानकारी दिनुभयो ।