गठबन्धनका गुरूङको उम्मेदवारी खारेजपछि विष्णु पौडेललाई चिठ्ठा !

0
Shares

काठमाडाैं  । 

निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज गरिदिएको छ।

उम्मेदवार गुरूङ आफैँ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो।

गुरूङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनबाट २० सिट लिएर चुनावमा होमिएको एकीकृत समाजवादी १९ सिटमा सीमित भएको छ। गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ।

यहाँ नेकपा एमालेबाट वडायक्षका उम्मेदवारहरूले ३३ हजार १ सय ८७ मत ल्याएका थिए भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसबाट ३४ हजार ९ सय ५९ मत, माओवादी केन्द्रबाट तीन हजार एक सय ८८, नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ८२ मत ल्याएका थिए। यो क्षेत्रमा राप्रपाले तीन हजार नौ सय २० मत ल्याएको थियो।

राप्रपा, एमाले र जसपा गर्दा यो क्षेत्रमा ३७ हजार दुई सय ९० मत हुन्छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ८३ मत पुग्छ। दुई हजार तीन सय ९३ मतान्तर भएको यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार छन्। उनका प्रतिस्पर्धी मानिएका गुरूङ र भुसालको उम्मेदवारी खारेज भएसँगै पौडेलले चुनाव जित्ने सम्भावना बलियो भएको छ।

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ ।