प्रधानमन्त्रीको पासा फाल्दै चुनावी अभियानमा नेताहरु

0
Shares

आगामी निर्वाचन जित निकाल्नका लागि राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको पासा फालेर जनतामाझ पुगेका छन् । पार्टीका शीर्ष नेताहरुले चुनाव पछि आफै प्रधानमन्त्री भएर देश हाक्ने एजेण्डा लिएर चुनावी अभियान थालेका हुन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), कांग्रेस नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला, शशांक कोइराला, गगन थापा लगायत आभा दर्जनभन्दा बढी नेताहरुले चुनाव पछि प्रधानमन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

चुनाव पछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने प्रधानमन्त्री आफै हुँने दाउका साथ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी,एकीकृत समाजवादी लगायत सक्ता साँझेदार दलहरुसँग चुनावी एकता गर्नुभएको हो । चुनावी एकतालाई आगामी सरकार सञ्चालन सम्म सँगै लैजाने नेपाली कांग्रेसको सोच रहेको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो । ‘अहिलेको कांग्रेससँगको गठबन्धन यो सरकार रहुन्जेल र चुनावका लागि मात्रै हैन, महतले भन्नुभयो, ‘यो गठबन्धन चुनाव पछि बन्ने सरकारमा समेत कायम रहन्छ । देशको समृद्धि, विकास र परिवर्तित राजनीतिक व्यवस्था लाई जोगाउँ हामीले गठबन्धन गरेका हौं ।’

आगामी सरकार गठन गर्दा सम्म वर्तमान सत्ता गठबन्धन रहेको खण्डमा शेरबहादुर देउवा आफै प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । उता गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) पनि आगामी सरकारको नेतृत्व गर्ने गरी योजना बनाउँदै हुनुहुन्छ । उहाँले केही समय प्रधानमन्त्रीकै पासा फालीसक्नुभएको छ । राजनीतिक दाउँपेचमा अब्बल मानीनुभएका दाहालले मतदातामाझ चुनाव पछिको सरकार माओवादीको नेतृत्वमा बन्ने उद्घोष गरेरै चुनावी प्रचार थाल्नुभएको हो । सहज जितका लागि गोरखा रोज्नुभएका दाहालले कांग्रेससँग कुरा नमिले अन्य दलहरुसँग गठबन्धन गरेर पनि प्रधानमन्त्रीको प्रयत्न गर्न सक्ने माओवादी केन्द्रका एक केन्द्रिय सदस्यले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्र्रचण्ड ‘ेपाली राजनीतिको डायनामिक लिडर हो, उहाँले चाहानुभयो र गठबन्धनले रोक्ने खोजे अर्को गठबन्धन बनाएर पनि प्रधानमन्त्री हुन सक्ने व्यक्ति हो । तर,चुनावपछि पनि गठबन्धनबीच सहकार्यमै जिम्मेवारी बाँडफाँट हुन्छ ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचन पछि एमाले सबै भन्दा ठूलो पार्टी बनेर सरकार हाक्ने दावी गर्नु भएको छ । एमालेले चुनावको टिकट वितरण गर्नु अघि नै आगामी सरकारको नेतृत्वमा पार्टी अध्यक्षले नै गर्ने भन्ने निर्णय समेत गरिसकेको छ । हामीले सरकार बनाउँने परिस्थिती बनेको खण्डमा सरकारको नेतृत्व अध्यक्ष केपी ओलीले नै गर्ने भन्ने निर्णय गरेको नेता विशाल भट्टराइले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गत २३ गते मनोनय दर्ताकै क्रममा आफु आगामी सरकारको नेतृत्व गर्ने गरी चुनावी मैदानमा आएको बताउँनुभयो । कोइरालाले मतदाताहरुलाई आश्वस्त पनदै भन्नुभयो, ‘चुनाव पछिको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्छ । उक्त सरकारको प्रधानमन्त्री हुनेगरी म तपाइहरुसँग चुनावमा भोट माग्न आएको छु ।’

कोईराला नवलपुर–१ बाट तीनपटक निर्वाचित भइसक्नुभएको छ भने अहिले चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ । तीनपटक सम्म विकास निर्माण र नीतिगतरुपमा काम गरेको र समृद्ध नवलपुर निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि आफू पुन: चुनावमा होमिएको उहाँले बताउँनुभयो ।
‘तीन पटकसम्म चुनाव जितिसकेको छु , उहाँले भन्न्ुभयो, ‘यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन,’ ‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’
सोही दिन कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि अव ड्राइभिङ सिटमै बसेर देश हाक्ने योजना सुनाउनु भएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गर्दै उहाँले अवको पाँच वर्ष आफैले देशको मुल दायित्व लिने बताउनुभयो । थापाले भन्नुभयो, ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला ।’

नेपाली कांग्रेसका अर्को नेता रामचन्द्र पौडेलले पनि चुनाव जितेपछि प्रधानमन्त्रीको दावी गर्ने बताइसक्नु भएको छ । मनोनयन दर्ता अघि नै उहाँले देशलाई आर्थिक, सामाजिक र राजनीतिक निकास दिनका लागि आफुले एक पटक कार्यकारी पदमा बसेर देश हाक्ने बताउनुभएको थियो । उहाँले चुनावी अभियानमा पनि सोही कुरालाई दोहोर्याउनुभएको छ । कांग्रेसकै नेता डा.शेखर कोइरालाले पनि चुनाव पछिको प्रधानमन्धी आफु बन्ने दावी गर्नु भएको छ ।

आगामी मंसिर ४ मा हुने निर्वाचन नेपाली कांग्रेसको पक्षमा बहुकत आउने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने हुँदा देशलाई सहिढंगले चलाउन आफूले प्रधानमन्त्रीको दावी गर्ने उहाँले बताउनुभयो । नेताहरुले देशको कार्यकारी प्रमुख पदलाई चुनावी एजेण्डाका रुपमा जनतामाझ लैजाँदा जित सहज हुने कतिपयले टिप्पणी गरेका छन भने केहीले स्वभाविक ठानेका छन् । चुनाव जित्नका लागि पनि नेताहरुले देशको कार्यकारि पदको पासा फाल्ने गरेको भएपनि चुनावपछि प्रधानमन्त्रीको दावी गर्ने नयाँ अनुहारलाई स्वभाविक रुपमा लिन सकिने राजनीतिक विश्लेषक जैनेन्द्र जीवन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पटक पटक प्रधानमन्त्री भैसकेकाहरुकाहरुबाट जनता दिक्क भैसकेकाले आगामी प्रधानमन्त्रीको दावी गर्ने नयाँ अनुहारलाई जनताले सकारात्मक र स्वभाविक लिन सक्छन् ।’