बिरासत फर्काउन र जित जोगाउन आम्ने साम्ने खतिवडा र सुनुवार

0
Shares

काठमाडौं।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा नेपाली कांग्रेस बिरासत फर्काउन र एमाले जितको निरन्तरताको लडाइँमा छ । यही लडाइँ जित्नका लागि कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा र एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार चुनावी मैदानमा उत्रिएका हुन् । २०१५ सालको आम निर्वाचन देखि २०५६ सालको निर्वाचन सम्म आउँदा नेपाली कांग्रेसले एकछत्र जित्दै आएको भुमि ओखलढुंगा २०६४ को पहिलो संविधानसभाको निर्वाचमा माओवादीले चुनाव जितेसँगै खोसिएको छ । खोसिएको भूमि फिर्ता गर्न यसपटक कांग्रेस एक भएर लागेको नेता रामहरि खतिवडाले बताउनुभयो ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर १ बाट एमालेका यज्ञराज सुनुवार र क्षेत्र नम्बर २ बाट कांग्रेसका रामहरि खतिवडाले जितेर संविधान निर्माणमा भूमिका खेले । संघीय संरचनापछि एउटै निर्वाचन क्षेत्र कायम भएको ओखलढुंगामा २०७४ को संसदीय चुनावमा कांग्रेसका खतिवडा र एमालेका सुनुवार नै भिड्दा सुनुवारले बाजि मार्नुभयो ।

एमाले माओवादी केन्द्रबीच गठबन्धनका उम्मेदवार सुनुवार ५ हजार २ सय ५३ मत अन्तरले विजयी हुनुभएको थियो । ०७४ को पराजयलाई विजयाम परिणत गर्दै खोसिएको कांग्रेसको बिरासत फर्काउने अठोटका साथ नेपाली कांग्रेसका नेता खतिवडा चुनावी मैदानमा हुनुहुन्छ भने सुनुवारले पनि जित निरन्तरताको अपेक्षा राख्नुभएको छ । त्यतिबेला माओवादी केन्द्रको सहयोग पाएका सुनुवारले ३२ हजार ५८० मत ल्याउँदो खतिवडा एक्लैले २७ हजार ३२७ मत पाउनुभएको थियो ।

गत बैशाखमा भएको स्थानीय निर्वाचनको वडाको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ । साथै, योपटक माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेसकै बढी मत भएकाले खतिवडा नै बलियो उम्मेदवार देखिनुभएको छ । स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसको सबभन्दा बढी ३२ हजार २८८ मत छ भने दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ । त्यस्तै तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत आएको थियो । त्यसपछि जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत आएको थियो । यही मत परिणा र जिल्लामा प्रतिपक्षका रुपमा रहेर गरेका कामको मूल्यांकन गर्दै चुनाव जित्नेमा खतिवडा ढुक्क हुनुहुन्छ ।

२०७४ संघीय सांसद निर्वाचित भएपछि यज्ञराज सुनुवारलाई प्रतिद्वन्द्वी रामहरि खतिवडाले अंकमाल गरेर बधाई दिनुभएको थियो । संस्कारयुक्त राजनीति गर्ने, चुनाव हार्दा पनि जनताका हरेक दुखमा साथ दिदै जिल्लाको भौतिक विकास र मानविय कार्यमा निरन्तर लागिरहेका आफुलाई मतदाताले माया गर्ने खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव हार्दा पनि जिल्लाको विकास निर्माणमा जितेका सांसदहरुको भन्दा बढी नै काम गरेका छु । जनताका हरेक अप्ठ्याराहरुमा पुगेकै छु, भुकम्प देखि कोभिडको संक्रमणकालमा सबैभन्दा पहिला नागरिकको जिउधनको सुरक्षाका लागि मैले सहयोग गरे । सडक, पुल र विद्युतिकरणका क्षेत्रमा उल्लेख्य कामहरु गरेको हुँदा मेरो जनपक्षिय भुमिकालाई मतदाताले विश्वास गरेर चुनाव जिताउँछन् ।’
आठवटामा पाँचवटा स्थानीय तह जितेकाले कांग्रेसको संगठन आफैमा बलियो रहेको र माओवादी केन्द्रसँगको गठबन्धनले विजय निश्चित भएको भन्दै खतिवडाले जिल्लाको मुहार फेर्न ठूला विकासका आयोजना भित्र्र्याउने खतिवडाको मुख्य एजेन्डा रहेका बताउनुभयो ।

सुनुवारले पनि जित आफ्नै पक्षमा हुने दावी गर्दै आउनुभएको छ । एमालेको संगठन बनाउन निकै मेहनत गर्नुभएका सुनुवारले जितको आधार संगठन निर्माण र सांसद हुँदा गरेका कामलाई लिनुभएको छ । ‘पहिलो कुरा त एमालेको संगठन पहिलेभन्दा बलियो छ,’ उहाँले भन्नुभयो, ‘दोस्रो भनेको मेरो कार्यकालमा धेरै विकासका काम सुरु भएका छन्, त्यसलाई पूरा गर्न पनि मतदाता एमालेलाई जिताउन आतुर छन् । अरु गफ गर्छन हामीले काम गरेका छौं ।’
उमेर र राजनीतिमा समेत समकालिन युवा नेताहरु खतिवडा र सुनुवार निरन्तर राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका सुनुवार अनेराश्ववियुको केन्द्रिय अध्यक्ष नपाएपछि ०६३/०६४ देखि निरन्तर जिल्लाको राजनीतिमा हुनुहुन्छ भने खतिवडा नेविसंघको राजनीतबाट प्रवेश गरेर ०४८ देखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ १४ औं महाधिवेशनबाट केन्द्रीय हुनुभयो भने सुनुवार एमालेमा दोस्रो कार्यकालमा केन्द्रीय सदस्यको हुनुहुन्छ ।

जिल्लामा हाल १ लाख १७ हजार ८ सय ९७ मतदाता छन । प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन । करिब ६० प्रतिशत मतदानको अनुमान गर्दा पनि निर्वाचित हुने उम्मेदवारले ३० हजार हाराहारी भोट ल्याउनुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह र ७५ वडा मध्ये नगरपािलका सहित पाँचवटा प्रमुख, चार उपप्रमुख र ४५ वडा अध्यक्ष कांग्रेसका उम्मेदवार निर्वाचित छन् । जिल्ला समन्वय समिति कांग्रेसले एकलौटी बनाएको छ । नेकपा एमालेले एक प्रमुख र चार उपप्रमुख जितेको छ भने मााअ‍ेवादीले एक स्थानीयतह प्रमुख र जसपाले एउटा स्थानीय तह जितेका छन् । २०५१ साल देखि आन्तरिक कलहमा रुम्मलीएर चुनाव हार्दै आएको कांग्रेस यस पटकको निर्वाचनमा सबै समुहहरु एक भएर लागेकाले सहजरुपमा चुनाव जित्ने संघीय प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले दावी गर्नुभयो ।