रोम एक्स्पो– २०३० का लागि नेपालको समर्थन खोज्दै इटाली

0
Shares

काठमाडौं।

सन् २०३० मा हुने वर्ल्ड एक्स्पोको आयोजक बन्न उम्मेदवारी दिएको इटालीले नेपालको समर्थन खोज्दै रोम एक्स्पो–२०३० मा सहभागी हुन आग्रह गरेको छ ।

नेपाल र भारतका लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वर्ल्ड एक्स्पोमा रोमको उम्मेदवारीबारे जानकारी दिनुभयो ।

उहाँले इटालीमा हुने रोम एक्स्पोमा विश्वका ४० लाखभन्दा बढी संघसंस्थाको सहभागिता रहने जिकिर गर्दै भन्नुभयो– ‘एक्स्पोको आयोजकमा रोम छानिए, त्यसलाई भव्य बनाउन अर्बौं अर्वौ लगानी गर्ने नभई नवीकरणीय उर्जा र हरित शहरलाई प्रवद्र्धन गर्नेछौं । यो नेपालको पनि स्वार्थको विषय हो । दीगो पर्यटन र संस्कृति संरक्षणमा जोड दिंदै आएको काठमाडौं र रोमले समान मूल्य र मान्यता आत्मसात् गर्ने मित्र राष्ट्र भएकाले रोम एक्स्पो– २०३० का लागि हामीले नेपालको समर्थन प्राप्त गर्छौंं भन्ने विश्वास छ ।’

राजदूत लुकाले सन् २०१५ मा इटालीकै मिलान शहरमा एक्स्पो हुँदा नेपालको पेभिलियन सबैभन्दा आकर्षक भएको र धेरै आगन्तुकहरू झुम्मिएको स्मरण गर्दै भन्नुभयो– ‘यस्ता एक्स्पो सफलतापूर्वक आयोजना गर्न इटाली निकै सक्षम छ । त्यो बेला हामीले संस्कृति र सम्पदा संरक्षणसम्बन्धी विभिन्न परियोजना बनाएका थियौं । ती परियोजना अब कार्यान्वयनमा ल्याउने लागेका छौं ।’ उहाँले यसका लागि परराष्ट्र मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयसँग छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा इटालीका लागि नेपाली अवैतानिक वाणिज्यदूत प्रतिमा पाण्डेले कला, संस्कृति, सभ्यता र विकासका दृष्टिले सम्पन्न मुलुक इटालीसँग नेपालको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

कार्यक्रममा रोम शहरको कला, संस्कृति, सभ्यता र विकास झल्काउने इटालीका फोटोग्राफर जिनकार्लो क्यामिरिनीले खिचेका २१ वटा तस्विर र चित्रकलाहरू प्रदर्शनीमा राखिएको थियो । टाइबर नदी, रोमन सम्राट कन्स्ट्यान्टिन द ग्रेटको मूर्तिका अवशेष, सेन्ट पिटरर्स चर्चका आकर्षक तस्विरहरू समेटिएका तस्विर प्रदर्शनी दुई सातासम्म चल्ने बताइएको छ ।