बाँकेमा दुई सङ्घीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी

0
Shares

नेपालगञ्ज ।

बाँकेको तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यका लागि दुई सङ्घीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी परेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा वढी प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिनुभयो ।

नेपालगञ्ज बजारसमेत रहेको यस क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीकोतर्फबाट र नेकपा (एमाले) को समर्थनमा राप्रपाका डा धवलशम्शेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा हुनेछ । शिवसेना नेपालबाट दीवाकर शर्मा खनालले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभामा उम्मेदवारी परेका २४ मध्ये प्रदेश (क) मा १२ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका सदस्यका लागि ११ र प्रदेशसभा सदस्यका लािग १७ जनाले उम्मेदवारी दिनुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले गठबन्धनकोतर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । मन्त्री गहतराज नेकपा (माओवादी केन्द्र)को नेतासमेत हुनुहुन्छ । निर्वाचन क्षेत्र नं ३ मा ३१ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि १० र प्रदेशसभा सदस्यका लागि २१ जनाले उम्मेदवारी दिनुभएको छ । प्रदेशको (क) मा ९ र (ख) मा १२ जना हुनुहुन्छ ।

महिला सहभागिता न्यून

बाँकेको तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा महिला सहभागिता न्यून देखिएको छ । बाँकेको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस बिपीबाट कुन्ति शर्मा र प्रदेशसभा सदस्यका लागि १(ख) बाट कृष्ण केसीको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं २ मा स्तन्त्रतर्फ एक महिला उम्मेदवार हुनुहुन्छ । निर्वाचन क्षेत्र नं ३ मा महिला सहभागिता शून्य रहेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिनुभयो ।