पर्वतमा गिरी-जोशीको प्रतिष्पर्धा, बिरासत जोगाउने कसरत

0
Shares

पर्वत।

प्रतिनिधि सभाको निर्वाचनमा पर्वत जिल्लामा गठबन्धन र नेपाली कांग्रेसका बिचमा रोचक प्रतिष्पर्धा देखिएको छ ।
प्रतिनिधीसभामा गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीका बिचमा रोचक प्रतिष्पर्धा हुन लागेको हो ।

२०७४ सालमा भएको प्रतिनिधीसभाको निर्वाचनका प्रतिष्पर्धी गिरी र जोशी नै यसपटक पनि आमने सामने हुनुभएको छ । गिरी अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उमेदवार हुनुहुन्थ्यो भने जोशी यस पटक बामलोकतान्त्रिक गठबन्धनको उमेदवार हुनुहन्छ ।

पर्वतमा गएको स्थानीय निर्वाचनमा वडाहरुमा पाएको मतका आधारमा गठबन्धन भन्दा नेकपा(एमाले) बलियो छ । स्थानीय निर्वाचनमा पर्वतका कुल ६१ वडामा एमालेका उमेदवारले गठबन्धनका वडा अध्यक्षका उमेदवारले पाएको भन्दा झण्डै १ हजार मत बढी पाएका छन । यसका आधारमा पर्वतको प्रतिनिधीसभा निर्वाचनमा गठबन्धन भन्दा एमाले बलियो भएकाले एमालेले जित्ने सुनिश्चित भएका क्षेत्र मध्ये पर्वतलाई लिईदै आइएको छ ।

पर्वतमा यस पटक १५ जनाले प्रतिनिधीसभाका लागि उमेदवारी दर्ता गरेका छन । उमेदवारी दर्ता गरेका राजनैतिक दल र स्वतन्त्र उमेदवार मध्ये मुख्य प्रतिष्पर्धा भने नेकपा(एमाले)का पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीका बिचमा नै हुनेछ । २०७४ को प्रतिनिधीसभा निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतको अन्तरमा पराजित गर्नुभएको थियो । तत्कालीन समयमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गर्नुभएको थियो ।

एमालेका उम्मेदवार गिरी अघिल्लो निर्वाचनमा जस्तै फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै विजयको बिरासत जोगाउने तयारीमा हुनुहुन्छ । उमेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै गिरीलेकले कम्तीमा पनि १० हजार मतान्तरले विजयी हुने दाबी गर्नुभयो । नेकपा(एमाले)को नेतृत्वको सरकारका पालमा भएका बिकास निर्माणका काम र राष्ट्रियताको मुद्दामा लिएको अडानका कारण यसपटक पनि एमालेलाई जनताले अनुमोदन गर्ने बिश्वास उहाँको छ ।

एमालेको सरकार बनेपछि पर्वत जिल्लामा सडक, खानेपानी, बिद्युत, सिंचाई, विद्यालय, स्वास्थ्य क्षेत्रमा भएका बिकास र परिर्वतनलाई नै गिरीले मत माग्ने आधार बनाउनुभएको छ ।

पर्वत जिल्लामा २०७४ अघि सम्म पोखरा —बागलुङ सडक बाहेक २ किलोमिटर समेत सडक सम्पन्न नभएकोमा यस पटक १ सय १८ किलोमिटर कालोपत्रे भैसकेको तथा ८० किलोमिटर सडक कालोपत्रे हुने चरणमा प्रवेश गरेको उहाँको भनाई छ ।

एक घर एक धारा खानेपानी योजना, विद्यालयहरुका क्षतिग्रस्त भवन पूननिर्माण, सिंचाई योजनाहरु निर्माण देखि कालीगण्डकी करिडोर स्तरोउन्नती, मध्यपहाडी लोकमार्गको स्तरोउन्नतीका काम सम्पन्न भएकाले जनताले आफूलाई यस पटक पनि भारी मतका साथ अनुमोदन गर्ने बिश्वास उहाँको छ ।

हेरक प्रतिष्पर्धामा ‘म्यान अफ दि इलेक्सन’ बन्दै आउनुभएका गिरी मिजासिलो, हँसिलो र छिट्टै जो सँग पनि घुलमिल हुन सक्ने व्यक्तिको को रुपमा परिचित हुनुहुन्छ । ‘अघिल्लो निर्वाचनले नै हाम्रो अवस्था के छ भन्ने कुरा देखाएको छ। पाँच वर्षको अवधिमा जनताको माझमा प्रस्ट छन्। संसदमा जिल्लाका कुरा उठाउनेदेखि जनताका समस्या समाधानमा मेरो हर तरहको प्रयास रह्यो’, गिरी भन्नुहुन्छ ‘अघिल्लो पटक पनि युवा नेताबाट परिवर्तन सम्भव छ भनेर सबै राजनीतिक दलका व्यक्तिहरुलाई मलाई मतदान गर्नुभएको थियो। यस पटक पनि फेरि मैले नै उहाँहको सेवा गरु भन्ने चाहना छ। त्यो अवसर आम नागरिकबाट प्राप्त हुनेछ।’

नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य जोशी बाम लोकतान्त्रिक गठबन्धनको उमेदवारका रुपमा यस पटक चुनाबी मैदानमा हुनुहुन्छ । उहाँले २०७४ मा नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रको गठबन्धनका उमेदवार गिरीसंग बेहोरोको पराजयको बदला लिने तयारीमा हुनुहुन्छ ।

जोशी २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा बिजयी हुनुभएको थियो भने २०७४ मा पराजित हुनुभएको थियो । पाँचौ पटक प्रतिष्पर्धामा उहाँले तीन पटकको बिजयको बिरासतलाई फेरी फर्काउने बिश्वासमा हुनुहन्छ । गठबन्धनकै बलमा प्रतिस्पर्धी एमालेका गिरीलाई त्यस्तै मतान्तरले पराजित गर्ने दाउ जोशीको छ ।

पर्वतमा निर्वाचन जित्नका लागि कुशल खेलाडीको रुपमा चिनिएका जोशीलाई प्रतिकुल परिस्थितिमा पनि चुनाव हाँकेर निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन सक्ने ब्यक्तिका रुपमा पनि चिनिनुहुन्छ । उमेदवारी दर्ता पछि सम्बोधन गर्दै उहाँले यस पटक संसद मात्रै नभई मन्त्री बन्नका लागि जनताले अनुमोदन गर्ने दाबी गर्नुभएको छ । ‘अघिल्लो पटक बाम गठबन्धन रहेका कारण मलाई कठिन भयो। यस पटक म गठबन्धनमा छु। गठबन्धनका नेता तथा कार्यकर्ताहरु आफ्ना साझा उम्मेदवारलाई जिताउन एक हुनुहुन्छ।’ उहाँले भन्नुभयो—चुनाबमा जनताले गठबन्धनका एजेण्डालाई अनुमोदन गर्छन, पर्वतको बिकासका लागि मेरो आवश्यकता छ ।

उमेदवारी चयनका समयमा दुबै दलमा केही प्रतिष्पर्धा देखिए पनि अन्तिम समयमा आएर गिरी र जोशीले उमेदवार बन्ने मौका पाउनुभएको छ । गठबन्धन र एमालेमा टिकट बितरणमा केही असन्तुष्टि देखिए पनि गठबन्धनमा समेल दल नेपाली कांग्रेसको असन्तुष्छि प्रकट भैसकेको छ भने एमालेको असन्तुष्टि बाहिर देखिएको छैन ।

नेपाली कांग्रेसबाट उमेदवारको दाबेदार रहनुभएका पुराना नेता नबराज गुरुङ पशुपतिनाथ मन्दिर पुगेर भवगन संग किन यस्तो अन्याय गरेको भनेर रोष प्रकट गरेको भन्दै सामाजिक सञ्जालबाट असन्तुष्टि ब्यक्त गर्नुभएको छ भने कांग्रेसका जिम्बेवार नेताहरु उमेदवारी दर्ता गर्ने क्रममा सहभागी समेत हुनुभएन ।

टिकटको प्रतिष्पर्धामा रहनु भएका नेताहरु नवराज गुरुङ, रामकृष्ण मल्ल, खगेन्द्र तिवारी, राम शर्मा पौडेल सहभागी नहुनुलाई असन्तुष्टिको रुपमा लिएको छ तर कांग्रेसका नेताहरु भने काठमाण्डौबाट बिमानको टिकट नपाएका कारण उपस्थित हुन नसकेको दाबी गर्छन ।

यता एमालेमा भने उमेदवारीका लागि दाबेदार सबै नेताहरु प्रस्ताबक र समर्थक नै बस्नुभएको छ । पदम गिरी संगै प्रतिनिधीसभाका लागि दाबेदार संबिधानसभा सदस्य तथा पार्टी केन्द्रिय सदस्य कल्पना चापागाई प्रस्ताबक र अर्का दाबेदार संबिधानसभा सदस्य तथा पुर्व मन्त्री बिकास लम्साल समर्थक बस्नुभएको छ ।

एमालेमा गएको स्थानीय निर्वाचन र अहिले उमेदवारी चयनमा असन्तुष्ट नेताहरुले असहयोग गर्न सक्ने आशंका भएपनि एमाले एक ढिक्का भएको दाबी एमालेका नेता कार्यकर्ताको छ ।