फेवाताल सरसफाई महाअभियान सम्पन्न


कास्की ।

पोखरा महानगरपालिकाको अगुवाइमा मंगलवार बिहान फेवाताल सरसफाई महाअभियान सम्पन्न भएको छ । पोखरा-१७, ड्यामसाईडदेखी पोखरा-१८, चङ्खपुरसम्मको क्षेत्रमा विभिन्न ३३ वटा पोइन्टहरु निर्धारण गरीफेवाताल सरसफाइको महाअभियान सञ्चालन गरिएको थियो । ती ३३ वटा पोइन्टहरुमा ३३ जना वडाका वडाध्यक्षहरूको नेतृत्वमा सरसफाई महाअभियान सम्पन्न भएको पोखरा-२५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिनुभयो ।

विश्व राम सार सूचिमा सूचीकृत एवं पोखराको पहिचानका रूपमा स्थापित फेवातालको संरक्षण, विकास र प्रवर्द्धन साथै यसको स्वच्छता र सुन्दरता कायम राख्ने उद्देश्यले सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा सरसफाई अभियान सम्पन्न गरिएको तिमिल्सिनाले बताउनुभयो।

अभियानमा सुरक्षा निकाय, जनप्रतिनिधि एवं कर्मचारी, नागरिक समाज, आमासमुह, टोल विकास संस्था, युवाक्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरू, सहकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाहरू लगायत सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बगेर आउने विभिन्न प्रकारका फोहोरजन्य वस्तु तथा जलकुम्भी झारको फैलावटले फेवातालको सुन्दरतालाई सङ्कुचित एवं अस्वाभाविक बनाउने गरेको छ । विभिन्न क्षेत्रहरूबाट चिन्ता र चासो व्यक्त गरिएका भए पनि पहिलो पटक पोखरा महानगरपालिकाको नेतृत्वमा वृहद सरसफाइ कार्यक्रम गरी फेवातालको उद्धार गरिदैँछ ।