ललितपुर । तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठनबन्धनको तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको तर्फबाट पूर्व अर्थराज्यमन्त्री उदयशमशेर जबरा, क्षेत्र नं.–२ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट कृष्णलाल महर्जन र क्षेत्र नम्बर–३ मा ऊर्जा तथा जलश्रोतमन्त्री समेत रहेका माओवादी केन्द्रकी पम्फा भुसालले मनोनयन दर्ता गराउनुभएको थियो । उहाँले आफ्नो क्षेत्रको भौतिक विकासलाई पहिलो प्राथमिकतामा राख्ने र ऐतिहासिक सहरको रूपमा विकास गर्ने आफ्नो मुख्य भूमिका रहेको बताउनुभयो । क्षेत्र नम्बर–२ मा उम्मेदवारी मनोनयन गर्र्ने क्रममा सञ्चारकर्मीलाई निषेध गरिएको थियो ।
एमालेको तर्फबाट क्षेत्र नम्बर–१ मा नवराज सिलवाल, क्षेत्र नम्बर–२ मा प्रेम महर्जन र क्षेत्र नम्बर– ३ मा अमृत खड्काले मनोनय दर्ता गर्नुभएको छ । यसअघि, ललितपुर क्षेत्र नम्बर–१ मा एमालेका सिलवाल र ३ मा माओवादी केन्द्रकी भुसाल निर्वाचित हुनुभएको थियो । क्षेत्र नम्बर २ का महर्जन एमालेबाट विजयी भए पनि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
आइतबार उम्मेदवारी दर्ता गर्न गठबन्धनका तर्फबाट दलबल र पार्टीको झण्डा बोकेर निर्वाचन केन्द्रमा पुगेका सुरक्षाकर्मीले रोक लगाएको थियो । मनोनयन दर्ता गर्नुअघि जिल्लामा सुरक्षा समितिको बैठक बसेको थियो । बैठकलगत्तै बिहान साढे ११ बजेदेखि दर्ता शुरु भएको थियो । जिल्लामा सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ‘घण्टी’ चुनाव चिन्ह लिएर डा. तोशीमा कार्कीले क्षेत्र नम्बर– ३ को स्थानीय विकास प्रशिक्षण केन्द्रमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
तीनवटै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै स्थानमा मनोनयन दर्ता खुला गरिएको थियो । क्षेत्र नम्बर–१ को गोदावरी नगरपालिकामा, २ को सातदोबाटोस्थित एन्फा भवन र क्षेत्र नं–३ को स्थानीय विकास प्रशिक्षण भवनमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो ।
जिल्लाको गठबन्धनको तर्फबाट क्षेत्रगत रूपमा क्षेत्र नम्बर–१ बाट प्रदेश ‘क’ बाट माओवादी केन्द्रका हरि दाहाल र ‘ख’ बाट नेपाली कांग्रेसका मीनकृष्ण महर्जनले मनोनयन दर्ता गराउनुभएको थियो । गठबन्धनको क्षेत्र नम्बर–२ को प्रदेश ‘क’ मा रिशा श्रेष्ठ र ‘ख’ मा रामकृष्ण चित्रकारले मनोनयन दर्ता गराउनुभएको थियो । उहाँहरू दुवै नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ ।
त्यसैगरी, क्षेत्र नम्बर– ३ ‘क’ बाट जितेन्द्र श्रेष्ठ र ‘ख’ बाट राजकाजी महर्जनले मनोनयन दर्ता गराउनुभएको थियो । एमालेको तर्फबाट क्षेत्र नम्बर १ ‘क’ मा मधुसूदन पौडेल र ‘ख’ बाट चेतनाथ सञ्जेलले मनोनयन दर्ता गराउनुभएको थियो । क्षेत्र नम्बर–२ को ‘क’ मा रामेश्वर श्रेष्ठ र ‘ख’ मा ज्ञानेन्द्र शाक्य, क्षेत्र नम्बर–३ को ‘क’ मा रघुनाथ महर्जन र ‘ख’मा प्रेमभक्त महर्जनले मनोनयन दर्ता गराउनुभएको थियो ।
मनोनयन दर्तापछि एमालेका तर्फबाट क्षेत्र नम्बर –३ का प्रतिनिधिसभाका उम्मेदवार अमृत खड्काले युवा स्वरोजगारी र देशको अर्थतन्त्र सुधार गर्न आफ्ने भ्मिका रहने बताउनुभएको थियो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री ओलीको कार्यकालमा भएका विकास र योजनाका विषयलाई मुद्दा बनाउनेछु ।’
जिल्ला निर्वाचन कार्यालयले ललितपुरमा उम्मेदवारले २५ लाख रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।











प्रतिक्रिया