काठमाडौं । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ । एमाले–जसपा–राप्रपासहित अन्य साना दलहरू गठबन्धन गरेर चुनाव जाने सहमतिअनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरूमा आन्तरिक असमझदारी बढेको हो । गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई टिकटबाट वञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि चुलिएको छ ।
एमालेबाट टिकट नपाएपछि नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए पनि आफूले पार्टी नछाडेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘मैले बनाएको पार्टी हो एमाले, म छाड्दिनँ ।’ उहाँले जनताले आफूलाई समर्थन गर्ने र पार्टीले उम्मेदवार बनाएका श्याम घिमिरेलाई छाड्न लगाउने संकेत गर्दै उहाँले भन्नुभयो– ‘पार्टीले टिकट दिएका उम्मेदवारले जनताको दबाबमा उम्मेदवारी फिर्ता लिने समय बाँकी छ ।’
त्यस्तै, अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा एमालेका अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो । नाराबाजी गर्नेहरूले कालो झण्डा पनि देखाएका छन् । अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भए तापनि ओलीले बोहोरालाई टिकट दिनुभएको हो । रावलले टिकट नपाएपछि एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।
त्यस्तै, पार्टीले टिकट नदिएपछि एमाले नेता घनश्याम भुसालले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन गर्नुभएको हो । उहाँलाई सत्ता गठबन्धनको घटक नेकपा माओवादीले समर्थन गर्ने आश्वासन दिएको छ ।
यसैबीच मकवानपुरमा एमाले नेता तथा कार्यकर्ताले हेटौंडा–५ मा रहेको पार्टी कार्यालयमा आइतबार दिउँसो ताला लगाएका छन् । मकवानपुर क्षेत्र नम्बर– १ मा रामेश्वर रानालाई हटाएर ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएपछि रुष्ट बनेका नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । पार्टी कार्यालयमा उपस्थित युवा कार्यकर्ता आक्रोशित बन्दै कमल थापालाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताएका छन् ।
त्यस्तै, एमालेका पूर्वमन्त्री प्रभु साहले पार्टीले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जसपासँग तालमेल गरेसँगै रुष्ट बनेका साहले रौतहटको क्षेत्र नम्बर– ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । जसपाले पाएको सबै क्षेत्रमा उहाँको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । एमालेले एक्लै देश बनाउँछ, भागबण्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेस जसपालाई जिम्मा लगाउने काम गरेको उहाँको गुनासो छ ।











प्रतिक्रिया