थापालाई समर्थन गरेपछि एमालेमा बबण्डर

0
Shares

हेटौंडा । मकवानपुरको राजनीतिमा स्वच्छ छवि भएका नेताका रुपमा परिचित पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका रामेश्वर रानालाई दिइएको टिकट खोसेर नेकपा (एमाले)ले देशको राजनीतिमा अवसरवादी नेताको छवि बनाउनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थनपत्र दिइपछि एमालेभित्र विरोध शुरु भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुरका इञ्चार्ज रानालाई पार्टीले टिकट प्रदान गरेको थियो । मकवानपुरमा रानासँगै अन्य उम्मेदवार टुंगो लगाइएको थियो । तर, पार्टीले रानाको टिकट खोसेपछि थापा अब सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने हुनुभएको छ । थापालाई सूर्य चिह्नबाट चुनाव लड्ले एमाले अध्यक्ष केपी शर्माओलीसँग सहमतिपछि रानाको टिकट खोसिएको हो । ओली र थापाबीच व्यक्तिगत् सम्बन्ध निकै घनिष्ट रहेको एमालेका कार्यकर्ता बताउँछन् ।

शाही शासनका अन्तिम गृहमन्त्री थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने हुनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बन्नुभएको थियो । उहाँलाई एमाले नेता कृष्णप्रसाद दाहालले पराजित गर्नुभएको थियो ।

मकवानपुरको राजनीतिमा थापा र एमालेबीच बारम्बार प्रतिस्पर्धा हुँदै आएको छ । जसका कारण एमालेका जिल्लास्थित पदाधिकारी तथा कार्यकर्ता थापालाई खुलेर सहयोग गर्ने पक्षमा छैनन् ।

एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उहाँलाई उम्मेदवार नबनाउन पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन गएको थियो । तर, अन्तिम समयमा ओलीले थापालाई आफ्नो पार्टीको समर्थनबाट उम्मेदवार बनाउनुभएको छ ।

पार्टीको उक्त निर्णयपछि थापालाई तीन पटक पराजित गर्नुभएका दाहालले कहिलेकाँही परिस्थिति प्रतिकूल हुने र त्यसको सामना गर्न सकिने भए पनि अनुकूल परिस्थितिलाई प्रतिकूल बनाउने निर्णयप्रति खेद रहेको बताउनुभएको छ । आधिकारिक निर्णय रानालाई गरिए पनि आधिकारिकता थापालाई दिइएकोमा उहाँको आपत्ति छ ।

सूर्य चिह्नमात्र हैन, पार्टी नै प्रवेश गरे पनि कमल थापालाई चुनाव जिताउन नसकिने भन्दै पार्टी मकवानपुर जिल्ला सचिवालय सदस्य तथा वागमती गापा इञ्चार्ज खेमराज जर्गामगर पार्टी कमिटी विधि र पद्धति भन्दा बाहिरबाट आएका उम्मेदवार स्वीकार्य नहुने बताउनुहुन्छ । मकवानपुर १ (क) प्रदेश तथा समानुपातिकमा मात्र सूर्यमा मतदान गरिने र गराउन लगाइने उहाँको कथन छ ।

सोही विषयलाई लिएर एमालेजन रिसाएका छन् । उनीहरुले नेकपा एमाले मकवानपुर जिल्ला कार्यालयमा तालाबन्द गरेका छन् । एमाले कार्यकर्ताहरुले आइतबार विहान पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट कार्यकर्ताले हेटौंडा–५ स्थित सानोपोखरामा रहेको पार्टी कार्यालयमा तालाबन्द गरेका हुन् । उनीहरुले पार्टी कार्यालयमा धर्ना दिए । रुष्ट कार्यकर्ताले थापालाई सहयोग गर्न केन्द्रियता हाबी भएको र पार्टी कार्यकर्तामाथि अन्याय गरेको आरोप नेतृत्वमाथि लगाएका छन् ।

मकवानपुर प्रतिनिधिसभा–१ मा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रानाको टिकट खोसेर थापालाई चुनावमा समर्थन गर्ने निर्णयको विरोधमा कार्यकर्ताहरुले ताला लगाएका हुन् । एमाले केन्द्रले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष थापालाई प्रतिनिधिसभामा समर्थन गर्ने निर्णय गरेको थियो ।

संघीय र पार्टीको निर्वाचनमा पटकपटक हार्दै आउनुभएका थापालाई उहाँको पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापालाई उहाँको गृहक्षेत्र मकवानपुरको क्षेत्र नम्बर–१ बाट सर्वसम्मत् उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा मकवानपुरको हेटौंडामा भएको जिल्ला संयुक्त बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका थापालाई सर्वसम्मत् उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो ।

थापा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री, लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री बन्नुभएको थियो ।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषि मन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर २०५४ देखि २ बैशाख २०५५ सम्म परराष्ट्र मन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

२०४६ सालमा बहुदल आएपछि दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पञ्चहरु दल खोल्ने निर्णयमा पुगेर पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले मिलेर दल खोले पनि त्यो लामो समयसम्म चलेन । राप्रपामा भइरहने सत्ता संघर्षमा कमल थापा नै एक एक प्रमुख पात्र बन्नुभएको थियो ।