कांग्रेसले टिकट बाँडफाँडको लगायो टुंगो

प्रतिनिधी सभा सदस्यमा शिव, प्रदेश सभामा तिर्थ र कञ्चन

0
Shares

बनेपा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसले काभ्रेको लागि टिकट टुंग्याएको छ । कांग्रेसको भागमा परेको प्रतिनिधी सभा क्षेत्र नं २ मा पूर्व सांसद समेत रहेका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, प्रदेश सभा १ (ख) मा संविधान सभा सदस्य समेत रहेका कांग्रेस जिल्ला सभापति तिर्थबहादुर लामा र प्रदेश सभा २ (ख) मा पूर्व उद्योगराज्यमन्त्री समेत रहेका संविधान सभा सदस्य एवं कांग्रेस वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसका तर्फबाट उम्मेदवार तय भएका ३ नै जना पूर्व सांसद र अनुभवी राजनीतिज्ञ हुन् ।

गठबन्धनमा माओवादीको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा पूर्व उर्जाराज्यमन्त्री सुर्यमान दोङ, प्रदेश सभा १ (क) मा वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, २ (क) मा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल उम्मेदवार तय भएका छन् ।

शिवप्रसाद हुमागाई

२०३६ सालमा विधार्थी आन्दोलनमा सहभागी भएर राजनीति शुरु गरेका शिवप्रसाद हुमागाईले २०३६ सालमा नै कांग्रेसको सदस्यता लिएका थिए । शिक्षण पेशा समेत अंगालेका हुमागाईले बहुदलको पक्षमा जनमत संग्रहको प्रचार प्रसारको डाँडापारी क्षेत्रमा नेतृत्व गरेका थिए । २०३६–२०३९ सालमा नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधी भइसकेका थिए । २०३९ देखि २०४१ सम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरेका उनले २०४२ देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे । २०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी भुमिका निर्वाह गरेका उनी २०५२ साल फाल्गुन ३० गते पहिलो पटक कांग्रेस जिल्ला सभापति निर्वाचित भएका थिए । २०५३ वैशाख १५ गते पुनः भएको अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए ।

२०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उनले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरेका थिए । २०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुर्नस्थापित संसदमा उनी सदस्य थिए । २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्रत्यासी रहेका उनले २०७४ सालमा भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका थिए ।

२०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गरिसकेका उनी पाँचौ जिल्ला अधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएका थिए । २०६७ साल साउन १७ गते सम्पन्न छैठौ जिल्ला अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए । १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा टे«ड युनियन विभागको संयोजकको रुपमा उनले भुमिका निर्वाह गरेका थिए ।

२०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन विताएका छन् । २०६२÷६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कफ्र्यु तोडिएको थियो ।

तिर्थबहादुर लामा

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२ औं र १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधी सभा क्षेत्र नं १ को सभापति भएका थिए । पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए । बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए ।

प्रतिनिधीसभा क्षेत्र नं १ कम्युनिष्ट गढ मानिन्थ्यो । २०४८ यताका निर्वाचनमा सो क्षेत्रबाट कम्युनिष्ट उम्मेदवार जित्दै आएका थिए । २०४८ सालमा जनमोर्चाका कमानसिं लामा र २०५१ र २०५६ मा एमालेका शिवबहादुर देउजाले विजयी हासिल गरेका थिए । ४ निर्वाचन क्षेत्र कायम भएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ र २ मा नेकपा (माओवादी केन्द्र)का सुर्यमान दोङ र अक्कल बहादु थिङ विजयी भएका थिए । २०७० सालको संविधासभा निर्वाचनमा मात्रै नेपाली कांग्रेसका तिर्थ लामाले गढ तोडेका थिए । क्षेत्र नं २ मा एमालेका रामहरी सुवेदी विजयी भएका थिए ।

कञ्चनचन्द्र बादे

कांग्रेसका राजनीतिज्ञ राजदास बादेका भतिजा, बाबु गोपालदास बादे र आमा चिनिमाया बादेका कान्छा छोरा कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । २०२४ साल बैशाख ८ गते जन्मिएका बादे १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका हुन् । २०४४ सालमा नेपाल विद्यार्थी संघको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए । नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका उनी २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए । २०५८ सालमा नेपाल तरुणको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भए । नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ आंै महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले ०६२÷०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए ।

बादेलाई स्थानीय निकायको पनि अनुभव छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार बनेर विजयी भएका थिए । निरन्तर कृयाशिल बादेले २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

राजनीतिमा कृयाशिल बादे सामाजिक संस्थामा पनि उत्तिकै सकृय छन् । उनी काभ्रे जेसीजको सन् २००७ मा अध्यक्ष बनेका थिए । सन् २००६ मा रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष बनेर नेतृत्व प्रदान गरिसकेका छन् । नेपाल बाल संगठन काभ्रेको सदस्य रहिसकेका बादे नेपाल परिवार नियोजन संघ लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशिल छन् । बनेपा, पनौती र धुलिखेललाई खानेपानी खुवाउने उद्धेश्यले सञ्चालन भएको काभ्रे उपत्यका खानेपानी आयोजना स्टेरिङ कमिटीको सदस्य भएर पनि काम गरेका थिए । व्यवसायिक रुपमा यातायात क्षेत्रमा लगानी गरेका बादे अरनिको यातायात सेवा समितिका पुर्व कोषाध्यक्ष समेत हुन् ।