माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दाहाल सिन्धुली-२ मा उम्मेदवार

0
Shares

सिन्धुली । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ दाहाल (राजन)ले उम्मेदवारी दिने भएका छन् । पार्टीका पोलिटब्यूरो सदस्य एवं पुर्व बागमती प्रदेशसभा सदस्य दाहाल क्षेत्र नम्बर–२ को प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन् ।

२०७४ सालको निर्वाचनमा बागमती प्रदेशसभामा सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) प्रदेशसभामा विजयी भएका दाहाल यसपटक संघमा निर्वाचन लड्न लागेका हुन् । माओवादी केन्द्रबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभामा यसअघि दुई पटक पार्टीका उप–महासचिव हरिबोल गजुरेल निर्वाचन भएका थिए ।

यसपटक भने गजुरेललाई पछि पार्दै पोलिटब्यूरो सदस्य दाहालले सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभाको टिकट पाएका छन् । यस्तै, प्रदेश तर्फ निर्वाचन क्षेत्र नम्बर–२ ‘ख’ मा गठबन्धन दल नेपाल समाजवादीका सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर ‘क’ मा माओवादी केन्द्रका मातृका भट्टराई उम्मेदवार बनेका छन् ।

गठबन्धनको बागबन्डामा सिन्धुलीका दुई प्रतिनिधिसभा मध्ये क्षेत्र नम्बर–१ नेपाली काग्रेसको भागमा र क्षेत्र नं.–२ माओवादी केन्द्रको भागमा परेको थियो । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नम्बर–१ (क) माओवादी केन्द्रले, (ख) नेपाली काग्रेसले र निर्वाचन क्षेत्र नम्बर २ मा (क) नेपाली काग्रेसले र (ख) माओवादी केन्द्रले भाग पाएको छ ।