कैलालीमा बाढीको वितण्डा : सयौँ घरपरिवारको सडकमा बास

0
Shares

कैलाली । कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन् ।

मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ ।

असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरु दसैँ आएसँगै घर फर्किएका थिए । घर फर्किएर दसैँको टीकासमेत राम्ररी लगाउन पाएनन् ।

“दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो”, भजनीका रमा धामीले भनीन्, “छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो । शुक्रबार फेरि सडकमा आएका छौँ ।”

उनले बाढीका कारण आफूहरु बिचल्लीमा परेको गुनासो गरिन् । “बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो”, उनी भन्छन् ।, “हामी के खाने ? वस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।”

बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ ।

कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०।८० मिटर रेकर्ड भएको थियो । पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ ।

कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो ।