आज विजयादशमी, टीकाको शुभसाइत बिहान ११:५१ बजे

0
Shares

काठमाडौं । हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । टीका लगाउनुअघि देवी विसर्जन गर्ने गरिन्छ ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ ।