दशैंको मुखमा अनुगमनलाई तीव्रता

0
Shares

काठमाडौं।

चार दिनयता लगातार अनुगमनमा रहेकी काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको टोलीले म्याद नाघेका ओसिएका र कामै नलाग्ने सामग्री बरामद हुन थालेको छ । प्राय:जसो दशैं लागेपछि मात्रै अनुगमन गर्ने महानगरले दर्जनौं बोरा चामल, चिउरा, पिठोलगायत खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ ।

यो दशैंमा उपप्रमुख डंगोलको संयोजकत्वको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले कालिमाटी, सुन्धारा, कोटेश्वर, खाद्य व्यापार कम्पनी, बालाजु, महाराजगन्ज, चाबहिल क्षेत्रका खाद्य, मासु, कोल्डस्टोर, मिठाइ पसलमा अनुगमन गरेको छ । कामपा जनस्वास्थ्य विभागको संयोजकत्वमा भएको अनुगमनमा टोलीले खसीबोका बिक्री केन्द्रका समेत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा बिहीबार सुन्धारा क्षेत्रको मासु पसलको अनुगमन गरिएको थियो । अधिकांश मासु पसलको दर्ता नभएको, बध गर्ने र बिक्री गर्न ल्याइएका खसीबोका एकै ठाउँमा राखिएको, सररफाइमा ध्यान नदिएको भेटिएको थियो । उपप्रमुख डंगोलले सबै मासु पसललाई सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

महानगरपालिकाले एक दिन मात्रै अनुगमन गर्दा व्यापारीले मनपरी गर्न थालेको कामपाकै आरोप छ । सोही दिन कामपाले कोटेश्वरमा खाद्य पसल अनुगमन गरेको थियो । केहीबाहेक अधिकांश व्यापारीले नियमअनुसार व्यापार गरिरहेको फेला परेको थियो । उपप्रमुखको संयोजकत्वको टोलीले डिपार्टमेन्टर स्टोर, खाद्य किराना पसल, मासु पसललगायतका व्यवसायमा अनुगमन गरेको थियो ।

बुधबार कालिमाटीस्थित डी एन्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा/प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा/प्याकेट बरामद गरिएको थियो । सोही सप्लायर्सलाई एप्पल ब्रान्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ ।

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरूमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङग्रेन चामल छन् । त्यस्तै, १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।

टोलीले बानेश्वरका क्रममा संगम स्विटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकाले त्यसलाई नष्ट गरिएको थियो । अनुगमनका संयोजक डंगोलले कतै थाहा नभएर त कतै लापरबाही गरेर व्यापार गरेको देखिएको बताउनुभयो । कामपाका प्रवक्ता नवीन मानन्धरले महानगरको अनुगमनलाई निरन्तरता दिइने बताउनुयो । तर महानगरले दशैं र तिहार आउनु करिब ५ दिनअघि मात्रै अनुगमन गर्ने गरेको छ । ‘अब हामी सधैं अनगमन गर्नेछौं’ –कामपाका प्रवक्ता मानन्धरको भनाइ थियो ।

बजारको अवस्थाका विषय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं डिभिजनका प्रमुख एवं अनुसन्धान अधिकृत डा. सन्तोष ढकालले ‘किराना पसलहरुमा व्यवस्थापन र सरसफाइमा धेरै समस्या छ । अनुगमनका क्रममा खाद्यबस्तुमा कमिला, कीरा र धुन लाग्ने समस्या धेरै पाएका छौं । खाद्य अनुज्ञा पत्र नलिएका सामान बेच्नु नहुने कुराको ज्ञान नभएको र ज्ञान भएकाले पनि कार्यान्वयन नगरेको देखिएको छ ।’

वाणिज्य तथा आपूर्ति विभागका अधिकृत रामचन्द्र ढकाल भन्नुहुन्छ, ‘बजारमा हेर्नुपर्ने धेरै कुरा छन् । अहिले हामीले तयारी बस्तु हेरेका हौं । यसको पूरा व्यवस्थापनका लागि उत्पादन क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । यसमा काठमाडौं महानगरपालिकालाई गर्नुपर्ने विभागको सहयोग प्राप्त रहन्छ ।’

अनुगमनबाट व्यापारीलाई दिएको निर्देशन पालना भएको देखिँदैन । यसबाट सुधारका चिह्न केही देखिएनन् । अनुगमनपछि उपभोक्ता उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पर्व लक्षित अनुगमनलाई अन्य समयमा निरन्तरता दिन सके थिति बस्ने सम्भावना देखाउनुभयो ।

स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौं महानगरपालिकाले ‘काठमाडांै महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । ऐनबमोजिम महानगर आफैंले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । अनुगमनमा महानगरको अनुगमन तथा मुल्याङ्कन एकाइ, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरूको सहभागी थिए ।