चुनाव प्रचारप्रसार बिहान ७ देखि साँझ ७ बजेसम्म

0
Shares

काठमाडौं

यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आचारसंहिताअनुसार एकभन्दा बढी दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा गर्न नपाइने भएको छ । त्यसै गरी चुनाव प्रचारको समय पनि बिहान ७ देखि साँझ ७ बजेसम्म अर्थात् १२ घण्टाका लागि तोकिएको छ । निर्वाचनको प्रचार–प्रसार वा जुलुसमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधिलगायत व्यक्ति, संघसंस्था र अधिकारी गरी २४ पक्षले पालना गर्नुपर्ने विषयलाई समेटेर आचारसंहिता जारी गरेको हो । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आयोगले गत भदौ १३ गते नै निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशन गरेको थियो ।

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको आचारसंहितामा राजनीतिक दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने उल्लेख छ ।

त्यसै गरी मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन पनि आचारसंहिता भनिएको छ । अनलाइन वेबपेज, टिभी, स्क्रोलिङ, डिस्प्ले आदिमा उम्मेदवारको प्रचार–प्रसार गर्न नपाइने तर, पार्टी वा उम्मेदवारको आधिकारिक वेबपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ । आचारसंहिताअनुसार कसैको भावनामा ठेस पुग्ने किसिमका प्रचार–प्रसार गर्न पाइने छैन भने धर्मका नाममा पनि कुनै प्रचार गर्न पाइने छैन ।

आचारसंहितामा मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारहरूले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । मनोनयनका क्रममा नै उम्मेदवारहरूले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने छ । उम्मेदवारले सम्बन्धित प्रतिनिधिबाहेक अरूबाट खर्च गर्न नपाउने र राजनीतिक दलहरूले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गरिएको छ ।

२५ हजार रुपियाँभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्ने, कसैले नगद दिएमा चन्दादाताको नामसहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ । व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाइ दिई उम्मेदवार वा दलको खातामा जम्मा गर्नुपर्ने छ भने खर्चको विवरण र बिल भर्पाइ पनि सुरक्षित राख्नुपर्ने छ ।

आचारसंहिताको पालना स्वच्छ निर्वाचनको एउटा पूर्वशर्त भएको जिकिर गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो– ‘निर्वाचन प्रचारप्रसारको क्रममा रकम दुरुपयोग हुने वा अत्यधिक रकम खर्च हुने क्रमलाई कसरी रोक्न सकिन्छ भन्ने आयोगले विचार गरिरहेको छ ।’ उहाँले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा पनि गर्नुभयो ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्पष्टीकरण सोध्नेदेखि लिएर निर्वाचन कसुरअन्तर्गत कारबाहीसम्म गर्ने बताउनुभयो ।

आयोगले निर्वाचन आचारसंहिता अनुगमनको लागि दुई तहको अनुगमन समिति बनाउने जनाएको छ । केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा पाँचजना सचिवहरू रहनेछन् । आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ ।

त्यसै गरी निर्वाचन सेल हेर्ने नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पनि समितिमा रहनेछन् । आयोगको राजनीतिक दलसम्बन्धी महाशाखाको प्रमुख समितिको सदस्य सचिवको रूपमा काम गर्नेछन् । हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ । सो समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुनेछन् भने प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य रहनेछन् ।

निर्वाचन आयोगले सहसचिव वा त्यसभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीलाई केन्द्रीयस्तरबाट अनुगमनका लागि खटाउनेछ भने हरेक निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता अनुगमन संयन्त्र हुनेछ ।

यसअघि आयोगले सबै राजनीतिक दलहरूलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७९ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको थियो ।