तपोवन क्षेत्रकाे ८० लाख बालुवामा पानी : संरक्षण नगर्दा संरचना तहसनहस, स्थानीय सरकार बेखवर 

0
Shares

बझाङ। 

जिल्लाको तलकोट गाउँपालिका  र मष्टागाउँपालिकाको मध्य बिन्दुमा पर्ने  तपोवन तातोपानी धार्मिक दृष्टिकोणले पवित्र मानिन्छ । सेती नदीको किनारमै उम्लिएको जस्तै तातोपानी भएकोले धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिए पनि तपोवनको संरक्षणमा स्थानीय सरकार अनविज्ञ छ।

तपोवन क्षेत्रमा  बनेका संरचना बाढीले ध्वस्त बनाएका छन् भने  बाकी रहेका सोलार अज्ञात समूहले छियाछिया बनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालय मार्फत पर्यटन प्रवर्द्धन  गर्न आ .ब ०७७/७८ को बजेटमा तपवन धार्मिक क्षेत्र निर्माणका लागि ६० लाख रकम विनियोजन गरेको थियो।

डिभिजन बन कार्यालय बझाङद्वारा तपोवन संरक्षण समितिका लागि टेन्डर आह्वान गरी जयलक्ष्मी निर्माण कम्पनीलाई ठेक्का सम्झौता गरेको थियो ।

घटीघटाउमा ३० लाख लागतमा जयलक्ष्मी निर्माण सेवाले निर्माण गरेका संरचना हस्तान्तरण गरी प्रयोगमा ल्याउन नपाउदै अलपत्र अवस्थामा छन् ।

बलौटे जमिन भएकाले जति बलिया संरचना बनाए पनि सेती नदीका किनारमा आर. सि .सि , ग्याबिन नभएसम्म बनेका संरचना दिगो नहुने निर्माण कम्पनीका संचालक चक्र बोहराले बताए । बर्खाको समय लागेपछि सेतीनदीमा जाने बाटो समेत नरहनेर तातोपानीको कुण्ड पनि सेतीमै विलय हुने बोहराले बताए ।

अघिल्लो बर्षमात्र  सेतीनदीबाट लिफ्टिङ मार्फत पानी तानेर बगरमा बनाएका स्नान गृह , सुइमिङि पुल ,मन्दिर तथा शौचालय प्रयोगविहीन भएका छन् ।

सेतीनदीको चिसो पानीकै किनारमा तातोपानीको रहस्य भएकाले टाढा टाढाबाट भक्तजनहरु तातोपानीको कुण्डमा स्नान गर्न आउने गर्दछन्। अलौकिक शक्ति रहेको तपोभूमिको संरक्षण र प्रचारप्रसारमा स्थानीय सरकार उदासीन नहुनु माल पाएर चाल नपाए जस्तै भएको छ।

यतिखेर तपोभूमीमा रहेका कुण्ड समेत बचाउन नसक्दा निकट भविष्यमा प्राकृति सम्पदाको नामनिसान मेटिने सक्ने  डिभिजन बन कार्यालय बझाङका प्रमुख कर्ण बहादुर खातीले बताए । बन क्षेत्राधिकार भित्र परेको तपोवन तातोपानीका लागि प्रदेश सरकार बाट प्राप्त सबै लगानी तपोवको विकास र संरक्षणका लागि खर्च गरिए पनि स्थानीय सरकार र डिभिजन बन कार्यालयकाबीच सहकार्य नहुदा मन्दिर परिसरका पूर्बाधारहरु अलपत्र अवस्थामा रहेको बताए ।

त्यस्तै तलकोट गाउँपालिकाले तपोवन क्षेत्रमा रहेका  तातोपानीका कुण्ड बचाउ गर्नका लागि आ .ब २०७७/७८ मा २० लाख रकम खर्च गरिएको थियो ।
धार्मिक तथा पर्यटकीय गन्तव्य तपोवनमा स्नान गर्नका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिए पनि  पूर्बाधारको निर्माण गर्न कुनै गुरुयोजना नभई हचुवाका भरमा बनाएका मन्दिर परिसरका संरचनाहरुको सरोकारवालाले कुनै चासो नदिँदा अलपत्र अवस्थामा छन् ।

कुनै पनि समुदायमा रहेका प्राकृतिक सम्पदाको रेखदेख गर्नु स्थानीयको दायित्व हो तर उल्टो यस क्षेत्रमा राखेका सोलार प्यानको तोडफोड हुनु धर्मसंस्कृति माथिको प्रहार भएको मानिन्छ।

राज्यको ढुकुटी दोहन गर्न कमजोर भूगोल भएका ठाँउमा संरचना निर्माण गर्ने, तिनीहरूको उचित सञ्चालन, रेखदेख नगर्ने र अन्तमा पटक–पटक मर्मत गर्ने प्रवृत्तिले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन भन्दा बजेट पचाउने प्रवृत्ति मौलाएको देखिन्छ ।