डा. बरालको ‘मालामा नउनिएका फूलहरु’ भित्र चहार्दा



नगेन्द्रराज पौडेल

श्रमिक बरालका नामबाट थुप्रै गीत र बहुविधामा कलम चलाएका नेपाल सरकारका सेवानिवृत्त सचिव डाक्टर खगराज बराल साहित्यमा उदाएका सम्भावनाका अनन्य प्रतिभा हुन् । निजामतीसँग पनि मौलिकता, सिर्जना र आफ्नोपना हुन्छ र ? भन्नेहरुका लागि उनले सिर्जना गरेका विभिन्न विधाका बग्रेल्ती कृतिहरुको प्रकाशनले गतिलो जवाफ दिएको छ । चाहे उनको सिकाउने शैली होस् वा चाहे आफ्नी आमाको विषयमा लेखिएको उपन्यास । सरल शब्दावलीभित्र भावको अनन्त गहिराइ पहिचान गरी पाठकका लागि यथार्थ विषयवस्तु पस्कनु उनका हरेक कृतिको विशेषता नै हो । यसै कारण उनका हरेक कृतिहरु शिक्षाप्रद, कालजयी र सार्वजनित छन् ।

डाक्टर बरालले लेखेको गैरआख्यानात्मक कृति ‘मालामा नउनिएका फूलहरु’ हालै बजारमा आएको छ । यसमा उनले श्रमिक बरालको साहित्यिक नाम नराखी आफ्नो वास्तविक नामबाटै पुस्तक प्रकाशन गरेका छन् । यो उनको ‘मालामा नउनिएका फूलहरु’ गैरआख्यानात्मक अनुुभूतिहरुको सँगालो हो । यसको प्रकाशन शिखा बुक्सले गरेको हो । उक्त कृतिमा विभिन्न शीर्षकका बीसवटा विषयवस्तुहरु छन् । ती शीर्षकहरु एक–अर्कासँग एकदम भिन्न भएर आएका छन् । फरक–फरक शीर्षकले फरक–फरक विषयवस्तु पस्केका छन् । ती विषयवस्तुहरु लेखकले देखे, भोगेका र अनुभव गरेका परिवेशभित्रका छन् । यथार्थताको निकै नजिक छन् । हरेक विषयले कुनै न कुनै सन्देश दिएर गएका छन् । लेखकले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्ने आग्रह गरेका छैनन्, तर पढ्दै जाँदा यसो हुनुपर्ने रहेछ, यसो भयो भनेर पाठक आफैँ सचेत बन्छन् ।

मुख्य विषय

‘मालामा नउनिएका फूलहरु’ डाक्टर बरालको गैरआख्यानात्मक कृति हो । लेखकले देखेका, भोगका र भेटेका स्थान, पात्र र परिवेशलाई अनुभूतिमा रङ्गाएर चिरिच्याट्ट पाराले यसभित्र विषयवस्तुहरु पस्केका छन् । पढ्दै जाँदा यहाँका वषयवस्तुका कारण लाग्छ कतै म नेपालको संविधानका विशेषता पढ्दै त छैन ? कतै निजामतीभित्रका विकृतिहरु पढदै त छैन ? यसै कारण बहुपुुष्पहरुको एकत्रित स्वरुप नउनिएको मालाको सट्टा यो पुस्तक उनिएको तोरन बनेको छ । अभिधा अर्थभन्दा पर जाने हो भने सामाजिक विकृति र विसगंतितर्फ परोक्षरुपमा यहाँका विषयवस्तुले व्यङ्ग्य गर्दै सुधारका लागि सचेत गराएका छन् । यसो गर्न हुँदैन भन्ने लेखकीय आदर्श भने यहाँ पाइँदैन । सफल लेखकले जे छ त्यही देखाउँछ, जे हुनुपर्ने हो त्यसको खोजी गर्ने जिम्मा पाठकलाई छोड्छ । यहाँ पनि त्यही भएको छ । यो लेखकको सफलताको प्रतीक हो ।

आफू एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुँदा आमाबाबुलाई दश ठाउँमा कागजीरुपमा लगेको देखाएर उनैका नामको भत्ता निकालेर खाने निजामती छोराहरु एकपटक पनि तिनै आमाबाबुलाई तीर्थ किन लाँदैनन् ? लेखकले ‘आमाबाबुको कुरा’ शीर्षकमा त्यस्ता कर्मचारीको झाँको झारेका छन् । अझ अचम्म त के छ भने, एउटै बाआमालाई एउटै अड्डाबाट दुईजना दाजुभाइले एकैपटक सरुवा भएको कार्यालयमा लगेको प्रमाणित गरिदिन लेखकसामु पुुग्छन् । कतिपयले बाआमा पाल्ने निहुँ देखाएर घरपायक सरुवा माग्छन् । वास्तविकता भने अर्कै छ ।

न तिनले बाआमा पालेका छन्, न उनीहरुको स्याहारसुसार नै गरेका छन् । कर्मचारीहरुमा बाबुआमा देखाएर सरुवा माग्ने तर तिनै बाबुआमा नपाल्ने प्रवृत्तिका विरोधी लेखकले एउटै बाबुआमालाई दुईजना छोराले आफू सरुवा हुँदा भत्ताका लागि लाने–ल्याउने गरेकोमा आफूले रोकेको सन्दर्भ कोट्याएर निजामतीभित्रको विकृति उजागर गरेका छन् । सरकारी गाडीमा आतेजाते गरेर गाडीभाडा दाबी गर्ने निकृष्ट कर्मचारीप्रति उनको असहमति देखिन्छ ।

विगतको परम्पराबाट पृथक हुँदै गएका हाम्रा सन्ततिप्रति उनी ‘हिजो र भोलि’ शीर्षकमार्फत असहमत हुन्छन् । विवाह, जैविक मात्र होइन सामाजिक आवश्यकता पनि हो भन्दै उनले यस कृतिमा संस्कृति, दर्शन र परम्पराको उल्लेख गरेका छन् । वर–पीपल कसरी उम्रन्छ ? यसको विज्ञान यो पुस्तकभित्र देख्न सकिन्छ । खानाको आवश्यकता र विज्ञानसम्मत तर्क गरिएको छ । खाना सबैका लागि शीर्षकमा आमाको ‘कहाँ लाग्यो भोक’ को जिज्ञासा मेटाउने क्रममा हाम्रो सभ्यता, संस्कृति र अन्नदानको जीवनदर्शन समेटिएको छ । अर्थात् लेखकले गागरभित्र सागर खन्याएका छन् यस पुस्तकभित्र । सामान्य लाग्ने विषयवस्तुुलाई पनि उनले गहिरो तवरले विश्लेषण गरी वास्तविकता उजागर गराएका छन् । यसै कारण यो कृति पठनीय छ ।

कृतिमा अति आधुनिकता पनि देखाइएको छ । श्राद्धमा गोरुसँग कुकुर रोएको छ । मानवेत्तर पात्रको बोली अति आधुनिकता हो, जो यहाँ देख्न सकिन्छ । लैनसिंह वाङ्देलको लँगडाको साथीजस्तै । मृग बोलेको छ । दर्शन छाँटेको छ मृगले । यद्यपि मृगसँगको संवादलाई लेखकले सपना देखेको रुपमा अन्त्य गरेका छन् । लेखकका शब्दमा ‘मृगको दृष्टिकोण स्वैरकल्पना’ हो । मानवेत्तर पात्र नै सही, मृगको बोलीमा हाम्रो समाज र समाजको यथार्थता बोलेको छ । समाजको ऐना देखिएको छ । हाम्रो समाजको यथार्थताका लागि मृगको कल्पना लेखकीय विशेषता हो ।

पढ्दै जाँदा कृतिभित्र धर्म छ, दर्शन छ, विज्ञान छ । समाजको सजीव चित्रण छ । सुगाको विष्टाबाट वर–पीपल उम्रने प्रसङ्गमा विज्ञान आएको छ । कृष्णसारको लोपमा पनि विज्ञान छ । कृष्णसारलाई भगवान् कृष्णका रुपमा मानेर पुजा गर्ने चलनले हाम्रो धर्म र दर्शनलाई उपस्थित गराइएको छ । श्राद्धको प्रसंगमा धर्म आएको छ । सपनामा मृगसँग गरिएको संवादमा मातृ मृत्युदरको भयावह अवस्था देखाइएको छ । गर्भपतनजस्तो प्राणीहत्याको काममा मानव संलग्न भएको प्रसंगले हाम्रो समाजको अवस्था चित्रित भएको छ । विद्वान् र बुद्धिजीवीको अन्तर केलाउने क्रममा दर्शन अघि सारिएको छ ।

मलामीलाई खाजा खर्चबापत पैसा दिने चलनले हाम्रो संस्कृतिको एउटा पक्ष उजागर भएको छ । निजामतीमा विदेश–मोह कतिसम्म हुन्छ भन्ने कुरा एउटा देशबाट फर्कन नपाउँदै अब मलाइ कहाँ पठाउनुहुन्छ भनी सोध्ने कर्मचारीको स्वार्थी मनोवृत्तिको चित्रणले प्रस्ट पारेको छ । कर्मचारीको यथार्थ प्रवृत्ति उतारिएको छ । संसद् विघटनकै बेला (२०५१) आफू जागिरमा छिरेको र संसद् विघटनकै बेला (२०७८) निवृत्त भएको संयोगलाई लिएर नेपालको राजनीतिक अस्थिरताप्रति लेखकीय असहमति प्रकट गरिएको छ । गैरकानुनी कुरामा पनि मानिसहरुको दाबीलाई लिएर लेखकले अदाबी गर्न किन नसकेको ? भनी प्रश्न गरेका छन् ।

यसरी यस कृतिभित्र विभिन्न सन्दर्भ, प्रसङ्ग र अवस्थाबाट फरक–फरक विषयको प्रस्तुति गरिएको छ । यस्तो छ भनिएको छ, यस्तो हुनुपर्छ भनिएको छैन । यसकारण यो कृति जे छ त्यसैको यथार्थ प्रस्तुति हो । सुधार यसको अभिष्ट हो, जसलाई पाठकले पढेपछि स्वतः बुुझ्न सक्छन् । तर प्रत्यक्षरुपमा यही नै गर्नुपर्छ भन्ने दाबी लेखकको छैन । यसै कारण पुस्तक एउटै फूलको माला नबनेर सयौं फूलको तोरण बनेको छ ।

मिश्रित भाषा

यहाँ मिश्रित भाषा अँगालिएको छ । विभिन्न पात्रलाई उभ्याउँदा लेखकले तिनै पात्रअनुकूलको बोली बोलाएका छन् । भाषिक अशुद्धता भए पनि स्थानीय जनबोलीको प्राकृत रुप यसमा देख्न सकिन्छ । यो लेखकको भाषागत चलाकी हो । कृतिमा धेरै ठाउँमा प्रथम पुरुष शैली अँगालिएको छ । बेला–बेलामा द्वित्तीय र उत्तम पुरुष पनि आएका छन् । अभिधा अर्थमा नै सबै विषयवस्तुहरु बुझ्न सकिन्छ । अन्य कृतिमा जस्तै यसमा पनि लेखकले समास शैली अपनाएका छन् । कृतिभित्र लेखकले स्थानीय रुपमा बोलिने कथ्य भाषालाई पनि समेटेका छन् । अक्कर, टोड्का, कापा, खोरेत, अरिन्च, भुस्याहाजस्ता स्थानीय जनबोलीको प्रयोग यहाँ गरिएको छ । पेरिमिटर, एआई (आर्टिफिसियल इन्टिलिजेन्ट), जिरो, इनब्रिडिङ, डेलिगेसन, वार्मअपजस्ता अंग्रेजी शब्दहरु आएका छन् । अनुप्रास मिलाउने नाउँमा ‘नोकरी सोकरी’ जस्ता शब्दको जबरजस्त प्रयोग गरिएको छ ।

‘ताही, ताही क्या कुरा अद्दा हौ सरले पनि’ (पृ.१४४) बझाङ्गी भाषाको प्रयोग यसमा पाइन्छ । कतिपय ठाउँमा लेखक भाषिक सचेतताबाट चिप्लिएका छन् । यद्यपि कृतिको पाण्डुलिपि धेरै विद्वान्हरुलाई पढाएर निजहरुको प्रतिक्रियासमेत यहाँभित्र समावेश गराइएको छ । यसकारण भाषिक त्रुटि कम हुनुपर्ने हो । तर पाण्डुुलिपि पढ्नेहरुले समेत भाषालाई उपेक्षा गरेको देखिन्छ । न्यायाधीश (बृहत् नेपाली शब्दकोश) लाई न्यायाधीश बनाइएको छ । बाँडफाँडलाई बाँडफाँट (पृ.२१४) बनाइएको छ । जीपको सट्टा जीव (पृ. १०५) आएको छ । खितितित्तजस्ता अनुकरणात्मक शब्दले भाषामा तिख्खरता थपेको छ । ‘अपना काम बनता, भाडमे जाये जनता’ जस्ता हिन्दी उखानको प्रयोग छ । ‘ननिको’ जस्ता शब्द प्रयोगले विषयवस्तुलाई सरस हुनबाट रोकेको छ ।

‘….वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने प्रस्तावमा छलफल बैठकको थियो….’ (पृ. २८८) र ‘….प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले गरेको सिफारिसअनुसार श्री ५ महाराजाधिराजले संसद् विघटन गरी मध्यावधि चुनावको मितिसमेत घोषणा भयो….’ (पृ. २२८) जस्ता वाक्यगठन असहज र दुुर्बोध्य देखिन्छन् ।

कर्मचारीको विदेश भ्रमणको प्रसंग दोहोरिएर आएको छ । यसलाई शुरु (तीनवटा पोर्टको रहर, पृ. १६१) मा नै समेट्न सकिन्थ्यो । अमेरिकी प्रोफेसरको मन्तव्यमा चउर र भिर प्रतीकात्मकरुपमा आएको देखिन्छ । उनको भनाइ सार्वजनीन देखिन्छ । समग्रमा कृति पठनीय छ, संग्रहणीय छ । लेखक बरालले कर्मचारी वृत्तमा सुधारका लागि गरेका प्रयासहरु प्रेरक छन् । केही अदाबी गर्ने पात्रहरु लुकाइएको छ । उनीहरुको पनि नामनामेसी दिन सकेको भए उनीहरुप्रति सम्मान अझै बढ्न जान्थ्यो । समग्रमा डाक्टर बरालको उक्त कृति सुधारात्मक सन्देशका लागि सफल छ । आफ्नो अनुुभूतिमार्फत बराल यस कृतिमा शिक्षा, स्वास्थ्य, राजनीति, प्रशासन र धर्म–संस्कृतिका पक्षमा सुधारको चेत दिन सफल देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्