कात्तिक १ गते अस्थायी मतदाता नामावली प्रकाशन



काठमाडौं ।

निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीहरू आउँदो कार्तिक १ गते प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने तोकिएको समय सकिएसँगै नामावली प्रकाशन गर्ने तयारी अघि बढाएको हो । आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्न असोज ६ देखि ८ गतेसम्म तोकिएको थियो ।

नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ । कात्तिक ५ र ६ गते नामावलीउपर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

अस्थायी मतदाताले आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिसकेको प्रवक्ता पौडेलले बताउनुभयो । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मध्येबाटै अस्थायी मतदाता नामावली तयार गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ को परिच्छेद–३ दफा ३० मा समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रयोजनको लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ । सो ऐनमा भएको व्यवस्थाबमोजिम र सर्वोच्च अदालतले कैदी र थुनुवामा रहेकाहरूको मताधिकार सुरक्षित राख्न निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो ।

आयोगका अनुसार अस्थायी मतदाता हुन पाउनेहरूमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

त्यसै गरी कारागारमा रहेका थुनुवा वा कैदी, सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति र निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्