ठूला दललाई चुनावी घोषणापत्रको चटारो

0
Shares

काठमाडौं । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणा पत्र तयारीमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो । पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषणा पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् ।

उनीहरूले पाँच वर्षमा कार्यन्वायन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरू ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । एमालेले पनि टिकटसँगै घोषणापत्रको काम सकेर जनतामाझ जाने बताएको छ । गठबन्धनका सहयात्री कांग्रेस र माओवादीबाहेकका दलहरू पहिला टिकट टुङ्ग्याएपछि घोषणपत्र निर्माणतिर लाग्ने बताउँछन् ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनभित्रको टिकटको लफडाले घोषणापत्रको काम थाल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गठबन्धनको टिकट प्रकरणले चुनावी तयारीका अन्य कामहरू थाल्नै पाइएको छैन ।’नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय तयारी समिति बनाएर घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, ७ जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार गर्दै गरेको सहमहामन्त्री तथा घोषणापत्र अध्ययन र विश्लेषण उपसमितिका संयोजक जीवन परियारले जानकारी दिनुभयो । परियारको नेतृत्वमा गठन भएको उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको बताइएको छ ।

योसँगै घोषणा पत्रमा समेट्ने गरी जनभावना संकलन गर्न प्रविधिमार्फत सुझाव दिन सार्वजनिक अपिल नै गरेको छ । सुझाव संकलनका लागि ह्वाट्स एप, भाइवर, इमोको पहुँच हुनेहरूलाई मोवाइल नम्बर, आवाज रेकर्ड गरेर सुझाव दिनका लागि टोल फ्रि नम्बर र डिजिटल फर्ममार्फत सुझाव पठाउनका लागि क्यूआर कोर्डको व्यवस्था परेर सार्वजनिक अपिल गरेको छ । ती माध्यमहरूबाट जो कोहीले पार्टीलाई घोषणापत्रका लागि सुझाव दिन सक्ने समितिले जनाएको छ । कांग्रेसले ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ युवा भावनाको लहरलाई घोषणापत्रमा समेटिने घोणापत्र समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कांग्रेसले गर्न सक्ने योजनालाई मात्रै समावेश गरिन्छ ।’

देशको आर्थिक, समाजिक, भौगोलिक, जातीय पहिचान, खेलकुद, सांगीतिक क्षेत्रलगायत समग्र विषयवस्तुलाई समेटेर बनाइने घोषणापत्र छोटो र कार्यान्वयन गर्न सक्ने बनाउने शर्माको भनाइ छ । त्यसका लागि तयारी समितिमा विभिन्न विज्ञहरूको टोली बनाइएको छ । समितिले आवश्यक प्रादेशिक र विषयगत रूपमा हेर्नका लागि उपसमितिहरूसमेत बनाएर चाँडै सक्ने गरी लागेको समितिका सदस्यहरूले बताएका छन् । सबै प्रदेशमा बेग्लाबेग्लै घोषणापत्र बनाउने तयारीमा कांग्रेस लागेको छ । सस्तो लोकप्रियताको भ्रम नभई बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले जानकारी दिनुभयो । जिम्मेवार सोच र भरोसा गर्न सकिने संकल्प तथा अठोटको प्रधानतासहितको घोषणापत्र बनाइने उहाँको भनाइ छ ।

त्यस्तै नेकपा एमालेले आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि योपटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ वर्षमा गर्न सक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । अघिल्लो पटकका घोषणापत्रमा उल्लिखित विषयहरू भेग भएका र कार्यान्वयनमा आउन नसकेकाले योपटक कार्यान्वयन गर्न सकिने गरी घोषणापत्र ल्याउने एमालेका एक पदाधिकारीले बताए । एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारलाई घोषणापत्रमा प्राथमिकताका साथ राखिने नेताहरूले बताएका छन् । अघिल्ला चुनावको घोषणापत्रसमेत विश्लेषण गरेर कार्यान्वयन हुन सक्ने विषयलाई मात्र यो वर्ष समेट्ने तयारी भएको बताइएको छ । एमालेले पनि यसपटक सर्वसाधारणको समेत सुझाव लिएर घोषणापत्र निर्माणको काम भइरहेको जनाएको छ ।नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरूका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ ।

घोषणापत्र यसै साता तयार हुने नेताहरूको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी सचिव राम कार्कीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । घोषणापत्रमा जनजीविकाका विषयवस्तुलाई उठाउने र कार्यान्वयन गर्न सक्ने गरी योजना बनाउने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रका विषय विज्ञहरूसँग बसेर अन्तरक्रिया भएको र तिनै सुझावलाई टिपोट गरेर घोषणापत्रमा समेट्ने तयारी हुँदै गरेको कार्कीको भनाइ छ ।

माओवादीले पनि योपटकको घोषणापत्र छोटो र बुँदागत रूपमा जनताले बुझ्ने भाषामा तयार गर्ने र आफूले कार्यान्वयनका लागि सम्भव हुने विषयहरूलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । आगामी ५ वर्षमा माओवादीले देशलाई कहाँ पु-याउने भन्ने विषयको रोडम्याप घोषणापत्रमा समेट्ने समितिका नेताहरू बताउँछन् ।

दलका घोषणापत्र निर्माण समितिको बैठकहरू बस्ने, विज्ञहरूसँग आवश्यक छलफल गर्ने, नागरिकस्तरबाट आएका सुझावहरूलाई लिएर त्यसैका आधारमा घोषणापत्र बनाएपछि समस्या पहिचान हुने र कार्यान्वयन गर्न पनि सजिलो हुने दलहरूको बुझाइ छ । गत वर्षहरूमा जस्तै लोकप्रियता कमाउन घोषणा पत्रमा लेख्ने र कार्यान्वयन हुन नसक्दा जनतालाई निराश बनाउन पक्षमा आफूहरू नरहेको दलका नेताहरूले बताएका छन् । केही साना राजीतिक दलहरूले पनि घोषणापत्र निर्माणका काम थालनी गरेको बताएका छन् ।