पितृ खुसी पार्न महिलाको हत्या

0
Shares

रामेछाप ।

पितृ खुसी पार्न भन्दै रामेछापमा एक जना महिलाको हत्या भएको छ । हत्या हुनेमा खाँडादेवी गाउँपालिका ३ सित्खाकी ५५ वर्षीय बिबी माझी रहेको रामेछाप प्रहरीले जनाएको छ ।

पितृ खुसी नभएको भन्दै स्थानीयले बिबी माझी र उनकी ७० वर्षीय आमा सुनमाया माझिलाई समेत कुटपिट गरेका थिए । उनको अवस्था सामान्य रहेको रामेछापका प्रहरी प्रमुख डिएसपी राज कुमार थिङले बताए । उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

रामेछाप प्रहरीले घटनामा संलग्न भएका २२ जना लाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाले पितृले मारेको प्रहरी समक्ष बयान दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न थिङ सहित प्रहरी अधिकारीहरू सञ्चारकर्मी सहित सोमबार त्यसतर्फ लागेका छन् ।

सोह्र श्राद्धमा माझी समुदायले आफ्ना परलोक भएका पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा माझी समुदायलाई विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । उनीहरू त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कार सहित एक दिन पितृ पाल्छन् र पर्सी पल्ट बिहानै घाटमा लगेर आफ्नो विधिपूर्वक पितृ नदीमा बगाउँछन् । नदीमा पितृ बगाएपछि सोह्र श्राद्ध सकिन्छ ।

यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरू त्यसपछि काम्न छोड्छन् । तर यो वर्ष काम्न प्रक्रिया रोकिएन । शनिवार सोह्र श्राद्ध सकेका माझी समुदायका केही युवा युवतिहरू पितृ बगाउँदा अर्थात् तिथि सकिदा पनि काम्न नछोडेपछि माझीहरूको निष्कर्ष रह्यो– यो वर्ष पितृ खुसी भएनन् ।

त्यसपछि गाउँकी विबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्ने सहितका युवा युवतिहरू उनको घरमा पुगे । विवीको घरमा आमा छोरी मात्र थिए । गाउँलेले पहिले देखिनै विवीलाई बोक्सीको आरोप लगाउँदै त्यही अनुसारको व्यवहार गर्थे ।