सरकारका कारण देशको अर्थतन्त्र धरासायी : पूर्व अर्थमन्त्री पौडल

0
Shares

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत नीति एवं उसको सत्ता सञ्चालन गर्ने नालायकिपनका कारण देशको अर्थतन्त्र धरासायी बन्दै गएको बताउनुभएको छ ।

पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर निजी क्षेत्रले भोगेका समस्याहरुलाई समाधान गरि सही बाटोमा लैजाने क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसंग नभएको आरोप लगाउनुभयो ।

रुपन्देही व्यापार संघको २१ औं बार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन गर्दै पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट राष्ट्रलाई नेतृत्व दिने शक्तिलाई पहिचान गरि मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले रुपन्देहीको विकास र यस क्षेत्रको समृद्धिको अभियान कसैले रोकेर नरोकिने र त्यसमा राजनीति गरेर बाधा उत्पन्न गर्ने काम कसैबाट भएमा त्यसको कडा रुपमा सामना गर्ने चेतावनी पनि दिनुभयो ।

पौडेलले बुटवलको विकासका लागि अगाडि सारिएका सिद्धबाबा सुरुङमार्ग, तिनाउ खोलामा बन्ने सिङनेचर व्रिज, तिनाउ कोरिडोर, वेलहिया–बुटवल सिक्स लेनको मार्ग, निजी क्षेत्रको लगानीमा बन्ने २ वटा केवल कार लगायतका आयोजनाले आर्थिक समृद्धिमा नयाँ मोडेल तयार गरेको उल्लेख गर्दै उक्त क्षेत्रको समस्याहरुको सही सम्बोधनका लागि आफुले ठोस कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य महादेव पोखरेलले राज्यले लिएका कतिपय नीतिहरूका कारण अर्थतन्त्र खुम्चन पुगेको भन्दै सरकारका नीतिहरू अर्थतन्त्र केन्द्रित हुनुभन्दा निश्चित वर्ग र व्यक्ति केन्द्रित भएको आरोप लगाउनु भएको थियो । उहाँले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न र आर्थिक समृद्धिको मुद्दालाई माथि राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले अहिले मुलुकको अर्थतन्त्र निकै सुस्त भएको, व्यापार व्यवसायमा मन्दी छाएको एवं तरलता अभावका कारण लगानी गर्न पैसाको अभाव बढेको अवस्थामा बैंकको चर्को व्याजले व्यवसायीहरु निकै प्रताडित हुनु परेको धारणा राख्नुभयो ।